इबोला विषाणुका कारण अनाथ बनेका बालबालिका बिचल्लीमा

२०७१ आश्विन १५ गते, बुधबार

काठमाडौं। अफ्रिकाको पश्चिमी भागमा इबोला महामारीमा आमाबाबु गुमाएका हजारौँ बालबालिकालाई उनीहरूका त्रस्त र आशङ्कित नातोदारले काख लिन अस्वीकार गरेको संयुक्त राष्ट्र सङ्घको बाल कोषले मङ्गलबार जानकारी दिएको छ ।
यस महामारीका कारण गिनी, लाइबेरिया तथा सियरा लियोनका करिब तीन हजार व्यक्तिको मृत्यु भएको छ भने युनिसेफले यस अवधिमा तीन हजार ७०० बालबालिकाले आमाबाबु मध्ये एक गुमाएको जानकारी दिएको छ । यस संस्थाले यस्ता बालबालिकाको सङ्ख्या अक्टोबर महिनामा दोब्बर हुने अनुमान गरेको छ ।
अफ्रिकाका पश्चिमी तथा मध्यभागका लागि युनिसेफका क्षेत्रीय निर्देशक म्यानुयल फन्टेनले इबोलाले बिरामी बालबालिकालाई मृत्युदण्ड दिएको जस्तो मानवीय अवस्थामा पु¥याएको बताउनुभयो ।
अफ्रिकाको पश्चिमी भागमा सामान्यतया आमाबाबु गुमाएका बालबालिकालाई ठूला परिवारले स्वीकार गर्ने प्रचलन छ ।
युनिसेफले केही समुदायमा हाल इबोलबाट प्रभावित बालबालिकालाई यस्तो परिवारले पनि अस्वीकार गरेको देखिएको छ । सामान्यतया इबोला व्यक्तिको शरीरबाट निस्कने तरल पदार्थका कारण सर्ने गर्छ ।
फन्टेनले आमाबाबु गुमाएका र सहयोगको तत्कालै आवश्यकता भएका बालबालिकालाई कसैले पनि नचाहने गरेको र उनीहरूलाई परित्याग गरिएको उल्लेख गर्नुभयो ।- एएफपी

प्रतिक्रियाहरु

[anycomment]