इस्लामिक स्टेटद्वारा बेलायती नागरिकको घाँटी रेटेर हत्या
काठमाडौं । सिरिया र इराकमा आतंक मच्चाइरहेको इस्लामिक स्टेट –आइएसले अर्का एक बेलायती नागरिकको घाँटी रेटेर हत्या गरेका छन् । उनीहरुले बेलायती नागरिक एलन हेनिंग को हत्या गरेका हुन् ।उत्तरी इंग्ल्याण्डको सालफोर्डको एकल्ज निवासी ४७ वर्षीय राहतकर्मी एलन हेनिंग पेसाले ट्याक्सी चालक हुन् । उनी सिरियामा राहत पुराउन गएका थिए ।राहत लिएर निस्कँदा उनले भनेका थिए–यो सुनिश्चित गर्न महत्वपूर्ण छ कि सहयोग सही हातमा पुग्नेछ । तर, उनी इस्लामिक स्टेटको कब्जामा परेका थिए । सन् २०१३ को २७ डिसेम्बरमा राहत सामग्री लिएर सिरिया पुगेका उनलाई त्यहाँ पुगेको आधा घण्टामै अपहरण गरिएको थियो ।
उनीसँगै गएका अन्य बेलायती मुस्लिम नागरिकलाई छोडिएको थियो । तर, उनलाई जासुसको आरोपमा कब्जामै राखिएको थियो । इस्लामिक स्टेटले उनलाई जासुस सावित गर्न नसके पनि रिहा पनि गरेको थिएन ।
नौ महिना अघि अपहरण गरिए पनि उनकाबारेमा केही सार्वजनिक गरिएको थिएन । उनी अपहरण हुनुअघि राहत लिएर तीन पटक सिरिया पुगेका थिए । अन्तिम पटक सिरिया जानुअघि उनले भनेका थिए–म स्वयम मुसलमान होइन, तर शरणार्थी शिविरहरुले मेरो जीवन परिवर्तन गरेको छ, त्यसैले मलाई राहत लिएर जान बाध्य पारेको छ।
दुई सन्तानका पिता एलेनलाई उनका मित्रहरुले उनको प्राविधिक क्षमताका कारण ‘गैजेट’ भन्ने गर्दथे । गत साता इस्लामिक स्टेटको भिडियोमा देखिएपछि उनकी श्रीमती बारबाराले उनको रिहाईको माग गरेकी थिइन् । – एजेन्सी