अस्ट्रेलियाको आप्रवासन सम्बन्धी कानुनमा परिवर्तन
काठमाडौ।अस्ट्रेलियाको तल्लो सदनले आप्रवासन सम्बन्धी कानुनमा परिवर्तन गर्ने विधेयक पारित गरेको छ । शरणार्थी आप्रवासीलाई अस्थायी प्रवेशाज्ञा दिने विषय समेत समेटिएको विधेयक तल्लो सदन सिनेटबाट थोरै मतको अन्तरले मात्रै पारित भएको हो ।
सिनेटमा भएको मतदानमा विधेयकको पक्षमा ३४ र विक्षमा ३२ मत परेको बिबिसीले जनाएको छ । यो विधेयक माथिल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभबाट पारित भएपछि कानुनको रुपमा आउनेछ । विधेयक पारित भएमा शरणार्थीले अस्ट्रेलियामा ३ देखि ५ वर्षसम्म बस्न काम गर्न अनुमती पाउनेछन् । सन् २०१२ यता ३० हजारभन्दा बढी शरणार्थीले अवैध रुपमा डुंगाबाट अस्ट्रेलिया प्रवेश गर्न खोजेका छन् । त्यस्ता शरणार्थीलाई अस्टे«लियाले पपुवा न्युगिनी र नौरुका शिविरमा राख्दै आएको छ भने उनीहरुलाई काम गर्ने अनुमती समेत दिइएको छैन ।
यदि यो कानुन कार्यान्वयनमा आएमा उनीहरुले काम गर्ने अधिकार पाउनेछन् भने दक्ष कामदार वा अरु क्षेत्रमा भिसाका लागि समेत आवेदन दिन पाउनेछन् । ३ देखि ५ वर्षको समयमा स्थायी भिसा नपाएको खण्डमा भने उनीहरुलाई आफ्नै देशमा फिर्ता पठाइनेछ । विशेष गरी अफगानिस्तान, श्रीलंका, इराक र इरानबाट अस्ट्रेलियामा शरण खोज्दै जानेको संख्या उच्च छ ।