केजरिवाल भए दिल्लीको मुख्यमन्त्री
काठमाडौ, २ फागुन ।आम आदमी पार्टी नेता अरविन्द केजरीवालले आज दिल्लीको मुख्यमन्त्री पदको शपथ लिएका छन् । ऐतिहासिक रामलीला मैदानमा हजारौं समर्थककाबीचमा उप-राज्यपाल नजिब जंगले केजरीवाललार्इ पद तथा गोपनियताको शपथ दिलाएका हुन् ।
केजरीवालसँगै मनिष सिसौदिया, असिम अहमद खान, संदिप कुमार, सत्येद्र जैन, गोपाल राय र जिंतेन्द्र सिंह तोमरले पनि पद तथा गोपनियताको सपथ लिए । केजरीवालको नेतृत्वमा आम आदमी पार्टीले दिल्ली विधानसभा चुनावमा प्रचण्ड बहुमत हाँसिल गरेको छ । उसले कुल ७० सिटमध्ये ६७ सिटमा जित हाँसिल गरेको थियो ।
शपथ ग्रहणका क्रममा केजरीवालले उनको सरकार जनलोकपाल विधेयक चाँडो भन्दा चाँडो पारित गर्ने कोशिसमा लाग्ने प्रतिवद्दता जनाए । उनले पाँच सालभित्र दिल्लीलार्इ भ्रष्टाचार मुक्त सहर बनाउने समेत प्रतिज्ञा गरे ।
दिल्ली विधानसभा चुनावमा भाजपाकी मुख्यमन्त्री पदकी उम्मेद्वार किरण बेदीबारे टिप्पणी गर्दै केजरिवालले आफूले उनको धेरै इज्जत गर्ने बताए । उनले किरण बेदीको मार्गदर्शनमा अघि बढ्ने प्रतिवद्दता जनाएका छन् ।
उनले सम्बोधनका क्रममा आफ्ना साथी मन्त्री, विधायक र कार्यकर्तालार्इ अहंकारबाट बच्न समेत सल्लाह दिए । ‘कांग्रेस र भाजपाले उनीहरुले पालेको अंहकारकै कारण समस्या भोग्नुपरेको हो’, उनले भने, ‘हामी अहंकारबाट जोगिदैँ अघि बढौं ।’
दिल्लीमा रहेको साम्प्रदायिकता हिंसाबारे टिप्पणी गर्दै केजरिवालले यस्तो किसिमको राजनीति कुनै पनि हालतमा नसहने समेत उनने बताए । केजरीवाल दोस्रो पटक दिल्लीका मुख्यमन्त्री भएका हुन् । उनी एक वर्षअघि १४ फेब्रुअरीमै जनलोकपाल बिलको मुद्दामा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।
डिसेम्ब २०१३ मा भएको दिल्ली विधानसभाको चुनावमा विजयी भएपछि केजरिवालले कांग्रेसको समर्थनमा ४९ दिनसम्म मुख्यमन्त्री बनेका थिए ।