पूर्व प्रधानमन्त्री ली’ को अन्त्येष्टि गरिदै
काठमाडौँ , १५ चैत । सिङ्गापुरकाे पूर्व प्रधानमन्त्री ली क्वान यु को आज एक निजी समारोहबीच अन्त्येष्टि हुने कार्यक्रम रहेको छ । राज्यद्वारा आयोजना गरिने उनकाे अन्त्येष्टिमा एसिया तथा प्रशान्त क्षेत्रका नेता तथा विश्वका उच्च पदाधिकारीको उपस्थिति रहनेछ । शनिबार उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उनका पुराना मित्र तथा अमेरिकाका पूर्व विदेशमन्त्री हेन्री किसिन्जर पुगेका थिए । इन्डोनेसियाका पूर्व सैनिक जनरल प्राबोओ सुबियान्तोले पनि उहाँ प्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उनी गत वर्ष भएको राष्ट्रपति पदको निर्वाचनमा पराजित भएको थिए । यसै गरी चीनका इन्टरनेट व्यापारी ज्याक मा पनि त्यहाँ पुगेका थिए । शनिबार मध्यान्हमा लीलाई श्रद्धाञ्जलि व्यक्त गर्न करिब चार घण्टा लाममा बस्दा पुगेको देखिएको थियो ।
पूर्व प्रधानमन्त्री ली क्वान यु को श्रद्दाञ्जली कार्यक्रममा करिब चार लाख बढिले उनि प्रति श्रद्दाञ्जली व्यक्त गरेको जानकारी अधिकारीहरूले शनिबार दिएका छन् । सिङ्गापुरकाे संसदमा आयोजित उक्त कार्यक्रममा करिब १२ प्रतिशत नागरिक अर्थात चार लाख १५ हजार व्यक्तिले श्रद्दाञ्जली व्यक्त गरेको बताईएको छ । संसदको प्रमुख भागमै बुधबारदेखि लीको शव राखिएको छ । सोमबार ९१ वर्षको उमेरमा उनको देहावसान भएको थियो ।li
सिङ्गापुरको जनसङ्ख्या ५५ लाख रहेको छ र तीमध्ये ३३ लाख ४० हजार यहाँका नागरिक छन् । बाँकी यहाँ काम गर्न आएका कामदार तथा उनीहरूको परिवार रहेका छन् । संसदसम्म पुग्ने लाम पदाङ्मा आरम्भ भएको देखिएको छ । यो ठूलो खुला मैदान हो जहाँ, खेल, संगीत तथा राष्ट्रिय दिवसका कार्यक्रम आयोजना गरिन्छ । सिङ्गापुर सन् १९६५ मा मलेसियाबाट पृथक भएको घोषणा भएको थियो । पूर्व नेताका छोरा प्रधानमन्त्री ली सिङ लुङले फेसबुकमा जनताले आफ्ना पिताप्रति देखाएको अत्यधिक सम्मान तथा उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्न देखाएको चाहनाले आफू निकै द्रवित भएको उल्लेख गरे । जनतालाई लीलाई संसदमै गएर श्रद्धाञ्जलि व्यक्त गर्नुभन्दा संसदबाहिरै अन्यत्र सम्मान व्यक्त गरिदिन सरकारले आग्रह गरेको थियो र यसलाई केही नागरिकले स्वीकार गरेका थिए ।
ली सन् १९५९ देखि ३१ वर्षसम्म सिङ्गापुरको प्रधानमन्त्री रहे । उक्त वर्ष बेलायतले सिङ्गापुरलाई स्वतन्त्रता दिएको थियो । यसपछि अर्को २० वर्षसम्म उनी मन्त्रिपरिषद्को सल्लाहकारको रूपमा रहेका थिए । लीले सिङ्गापुरलाई आर्थिक समृद्धितर्फ लैजान निकै कडा शासन सञ्चालन गरेका थिए, प्रतिपक्षी राजनीतिक दललाई पन्छाएका थिए, आमसञ्चारलाई नियन्त्रण गरेका थिए र राजनीतिक स्वतन्त्रता सीमित बनाएका थिए । उनकाे निधानमा व्यापक रूपमा दुःख व्यक्त गरिएको छ । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन, दक्षिण कोरियाली राष्ट्रपति पार्क गुन हे, अस्ट्रेलियाली प्रधानमन्त्री टोनी एबोट, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, इन्डोनेसियाली राष्ट्रपति जोको विदोदो, बु्रनाइका नरेश सुल्तान हसनल बोल्किया तथा मलेसियाली नरेश सुल्तान अब्दुल हलिम मुआदजान साह अन्त्येष्टिमा सम्मिलित हुने विदेशी उच्च पदस्थ अधिकारी हुन । सिङ्गापुरलाई उपनिवेश बनाउने बेलायतबाट पूर्व विदेशमन्त्री विलियम हेग यस कार्यक्रममा उपस्थित हुनेछन ।