नाइजेरियाको राष्ट्रपतिमा बुहारी विजयी
काठमाडौं, १८ चैत । अफ्रिकी मुलुक नाइजेरियामा सम्पन्न राष्ट्रपति निर्वाचनमा पूर्व सैन्य शासक मुहाम्मादु बुहारी विजयी भएका छन् ।वर्तमान राष्ट्रपति गुडलक जोनाथनले आफ्नो हार स्वीकार गर्दै बुहारीलाई बधाइ दिनु भएको बीबीसीले जनाएको छ । बुहारीले गुडलक भन्दा २० लाख बढी मत पाएको बताइएको छ ।
नाइजेरियामा पहिलो पटक राष्ट्रपति निर्वाचनमा विपक्षीको जित भएको हो सत्ताधारी राष्ट्रपतिले चुनाव हारेका छन् । अल प्रोगेसिभ पार्टीका प्रवक्ताले आफ्ना नेताको जित पछि मुलुकका समस्याहरु प्रजातान्त्रिक तवरबाट समाधान हुने विश्वास व्यक्त गरेका छन् ।शनिवार र आइतवारसम्पन्न निर्वाचन जोनाथन र बुहारीबीच अत्यन्तै प्रतिष्पर्धात्मक मानिएको थियो ।
इस्लामिक लडाकु समुह बोकोहरामले मच्चाइएको हिंसाका कारण निर्वाचन ६ हप्ता पछि सार्नु परेको थियो ।
अत्यन्तै कडा सुरक्षा व्यवस्थाबीच गराइएको निर्वाचनका क्रममा केही स्थानमा हिंसात्मक गतिविधि भएको थियो भने धांधलीका आरोपहरु पनि लगाइएका छन् ।सन् १९९९ देखि नाइजेरियाको राजनीतिमा जोनाथनको पिपुल्स डेमोक्रेटिक पार्टीको एकलौटी प्रभाव थियो ।सन् १९६० मा बेलायतबाट स्वतन्त्र भएपछि नाइजेरियामा धेरै पटक सत्तापलटहरु भएको इतिहास छ ।अफ्रिकाकै ठूलो अर्थतन्त्र मानिने नाइजेरियामा सन् १९९९ मा बर्षौ लामो सैनिक शासनको अन्त्य भएको थियो ।- एजेन्सी