३० वर्ष जेल बसेपछि निर्दोष साबित

२०७१ चैत्र २२ गते, आईतवार

काठमाडौं, २२ चैत । अलामा राज्यमा ३० वर्षसम्म मृत्युदण्ड कुरिरहेका एक पुरुषका सम्बन्धमा यी व्यक्ति विरुद्ध आफूहरूसँग भएको एक मात्र प्रमाणले उसले अपराध गरेको प्रमाणित गर्न नसकेको भनी सरकारी वकिलहरूले निजलाई रिहा गरिदिएका छन् ।यस मुद्दामा सन् १९८५ मा हत्या भई पक्राउ पर्दा रे हिन्टन २९ वर्षका थिए । शुक्रबार स्वतन्त्र हुँदा उनी ५८ वर्ष पुगेका छन् र उनको कपाल खैरो भएको छ । उनलाई लिन जेफर्सन काउन्टी कारागारमा उनका बहिनीहरू आएका थिए ।
गत वर्ष अमेरिकी सर्वोच्च अदालतले हिल्टनको प्रारम्भिक सुनुवाई अपर्याप्त भएको निर्णय गरेको थियो । उनले नयाँ सुनुवाइमा भने विजय हासिल गरेका छन् । तीन दशक अगाडि गरिएको ब्यालेस्टिक परीक्षण र नयाँ यस्तै परीक्षणको नतिजा फरक देखिएपछि सरकारी वकिलहरूले हिल्टनमाथिको आरोप हटाएका हुन् । हिन्टनको घरमा फेला परेको बन्दुक तथा अपराधस्थलमा फेला परेको गोलीबीच विशेषज्ञहरूले सामञ्जस्यता फेला पार्न सकेनन् ।
हिल्टनले आफूले ३० वर्षसम्म मृत्युदण्ड कुर्नु नपर्ने र विशेषज्ञहरूले बन्दुक परिक्षण गरिदिएको भए राम्रो हुन्थ्यो भन्ने गुनासो गरे । यस विषयमा अलबामा राज्यले माफी मागेको छैन ।
उनले आफैँलाई माथि पुगेका, बलिया भएका र कानुनभन्दा माथि पुगेका ठान्ने व्यक्तिले कसैलाई पनि उत्तर दिन नपरेपनि आफूलाई मृत्यृदण्डको निर्णय दिन लगाउने व्यक्तिले भगवानलाई जवाफ दिनुपर्ने बताए । उनले यी व्यक्तिले आफूलाई आफ्ना परिवार तथा मित्रबाट पर लगेको मात्र नभई आफूले नगरेको अपराधका लागि आफूलाई मार्न खोजेको बताए ।
बर्मिङघमको एक रेस्टुराँमा काम गर्ने दुई पुरुष व्यवस्थापकको हत्या गरेको भनी हिन्टनलाई सन् १९८५ मा पक्राउ गरिएको थियो । तेस्रो व्यक्तिले हिन्टनले गोली हानेको भनी आरोप लगाएपछि उनलाई पक्राउ गरिएको थियो । सरकारी विशेषज्ञहरूले सुनुवाइको समयमा अपराधस्थलमा फेला परेका तीन गोली हिन्टनको आमाको .३८ क्यालिबरको स्मिथ एण्ड वेसन रिभल्भरबाट निस्केको देखिएको बताएका थिए । हिन्टनले तेस्रो गोली प्रहार हुँदा पनि आफू १५ मिनेट पर एक गोदाममा काम गरिरहेको दाबी गरेका थिए । यसो भए पनि हिन्टनलाई दोषी प्रमाणित गरिएको थियो ।
जिल्लाका उपप्रमुख सरकारी वकिल जन आर बोवर्सले बर्मिङघममा भएको अपराधका लागि आफूहरूसँग गोली र बन्दुक मात्र भएको र बन्दुक हिन्टनको घरमा फेला परेको जानकारी दिए ।
गत वर्ष सर्वोच्च अदालतले पहिलेको सुनुवाइको समयमा हिन्टनसँग राज्यले लगाएको आरोप विरुद्ध प्रमाण पेस गर्न ब्यालेस्टिक विशेषज्ञ खोज्न केबल एक हजार अमेरिकी डलर मात्र भएको भनी निजका वकिलले गलत रूपमा सोचेको भनी उक्त सुनुवाइ संवैधानिक रूपमा अपर्याप्त भएको निर्णय सुनाएको थियो । उक्त मूल्यमा काम गर्न तयार भएको विशेषज्ञले पनि हिन्टनसँग सोधपुछ मात्र गरेको र उक्त सोधपुछका समयमा निर्णायक समूहका सदस्यहरूले हाँसो गरेको बताइएको छ ।
अलबामाको समन्याय प्रयासका निर्देशक वकिल ब्रायन स्टिभेनसनले यो अमेरिकी न्यायिक प्रणालीमा गलत उदाहरण भएको बताउनुभयो । यसमा प्रारम्भिक सुनुवाइ गरिब अफ्रिकन अमेरिकन पुरुषसँग राम्रो प्रतिरक्षाको पहुँच नभएको भन्ने गलत अवधारणामा आधारित भएको बताउनुभयो ।
उहाँले यस मुद्दामा सही काम गर्न सकिने अवस्था भए पनि सही काम नगरिएको र वकिलहरूले यस्तो परीक्षण वर्षौँ पहिले नै गरिसक्नु पथ्र्यो भन्ने धारणा व्यक्त गर्नुभयो । रासस/एपी

प्रतिक्रियाहरु

[anycomment]