नास्पको दशौं वार्षिकोत्सव समारोह सुरु

२०७२ बैशाख ९ गते, बुधबार

काठमाडौ, ९ बैशाख । विश्वका खासगरी विकसित एवम् शक्ति सम्पन्न देशको सम्पूर्ण ध्यान यतिखेर इन्डोनेसियाको जाकर्ता सहरले खिचेको छ ।
खासगरी भूपरिवेष्टित, असंलग्न आन्दोलन, पञ्चशील सिद्धान्त तथा अतिविकासोन्मुख देशबाट विकासशील देशको स्तरोन्नतिमा उक्लन लागेका देशको ऐतिहासिक सम्मेलनको निष्कर्षको पर्खाइमा सिङ्गो विश्व नै उत्सुकतामा छ ।
‘विश्व शान्ति तथा समृद्धि प्रवद्र्धन गर्न दक्षिण–दक्षिण सहयोग सबलीकरण’ भन्ने नाराका साथ नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी ९नास्प० को दशौं वार्षिकोत्सव समारोह इन्डोनेसियाको राजधानी जाकर्ताको जाकर्ता सभागृहमा बुधबारदेखि सुरु भएको छ ।
दक्षिण–दक्षिण सहयोग सबलीकरण गरी सामूहिक चुनौती समाधान गर्ने ध्येयले आयोजित सो दुईदिने सो सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भाग लिइरहेका छन् ।
उनका साथमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, कामु परराष्ट्र सचिव शङ्करदास बैरागी, प्रधानमन्त्री कोइरालाका परराष्ट्रमामिला सल्लाहकार दिनेश भट्टराई, प्रधानमन्त्री कोइरालाका जनसम्पर्क सल्लाहकार मृदुला कोइराला, निजी चिकित्सक प्रा डा कविरनाथ योगी, शिष्टाचार महापाल अर्जुनकान्त मैनाली, परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेल, संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, प्रधानमन्त्री कोइरालाका स्वकीय सचिव अतुल कोइराला तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकृत पनि सहभागी छन् ।
सम्मेलनमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङगठन सार्कका देशलगायत विभिन्न १०९ देश, १६ पर्यवेक्षक मुलुकका प्रतिनिधि तथा २५ अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिले भाग लिइरहेका छन् । एसियाली–अफ्रिकी सम्मेलनको ६०औँ समारोह भने इन्डोनेसियाको वाङ्डुङ सहरमा वैशाख ११ गते आयोजना हुने छ ।
एसियाली तथा अफ्रिकी मुलुकबीच साझेदारीलाई अझ बलियो बनाउने तथा दुवै क्षेत्रको आर्थिक विकास विस्तार गर्न अनुभव आदानप्रदान गर्ने लक्ष्यका साथ ती देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख अथवा सरकारको प्रतिनिधित्व ती दुवै सम्मेलनमा रहेकाले यसलाई सानो संयुक्त राष्ट्रसङ्घको सम्मेलनका रुपमा लिइने गरिन्छ ।
ती दुवै सम्मेलनबाट निष्कने सामूहिक प्रतिबद्धता एवम् घोषणापत्रले विश्व राजनीतिमा परिवर्तन ल्याउने हुनाले ती दुवै सम्मेलनलाई उत्सुकतापूर्वक नियालिरहेका छन् ।
इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले सम्मेलनमा भाग लिन आएका विशिष्ट पाहुनालाई सभास्थलमा स्वागत गर्नुभयो । आफ्नो उद्घाटन मन्तव्यमा उहाँले विश्वमा शान्ति, समृद्धि, दिगो आर्थिक एवम् सामाजिक विकास गरी गरिब जनताको जीवनस्तर माथि उठाउन सामूहिक प्रतिबद्धताको खाँचो रहेको बताए ।
सम्मेलनअन्तर्गत आज नै प्रधानमन्त्री कोइरालाले एउटा सभाको सहअध्यक्षता गर्ने कार्यक्रम रहेको छ । साथै चीनका राष्ट्रपति सि जिनपिङसित प्रधानमन्त्री कोइरालाले भेटघाट गर्नुे कार्यक्रम रहेको छ ।
यसअघि सम्मेलनअन्तर्गत वरिष्ठ अधिकारी तथा मन्त्रिस्तरीय बैठक सम्पन्न भएका थिए । ती सम्मेलनबाट पारित भएका कार्यसूचीलाई सम्मेलनले अन्तिम रुप दिने छ ।
यस पटकको सम्मेलनबाट तीन प्रमुख दस्तावेज–वाङ्डुङ सन्देश, नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारीको पुनर्जीवन तथा प्यालेस्टाइनलाई एसियाली–अफ्रिकी मुलुकको समर्थनसम्बन्धी घोषणापत्र जारी गर्ने लक्ष्य राखिएको छ ।- रासस

प्रतिक्रियाहरु

[anycomment]