युरोपियन युनियनको आकस्मिक बैठक बस्ने
काठमाडौं, १० बैशाख। अफ्रिकाबाट ह्वारह्वार्ती अवैध आप्रवासी भित्रन थालेपछि रणनीति तय गर्न इटलीमा युरोपियन युनियनको आकस्मिक बैठक बस्दैछ ।
बैठकमा मानव तस्करहरुले प्रयोग गर्दै आएको डुंगा ध्वस्त पार्ने जस्ता अधिकार सेनालाई दिनुपर्ने विषयमा छलफल गरिने छ ।
इटलीले युरोपियन युनियनलाई तत्काल कुनै उपाय खोज्न पनि अपील गरेको छ ।
अवैध ढंगले भूमध्यसागरको बाटो हुँदै आप्रवासी भित्र्याउने तस्करहरुसँग आफ्नो देशको युद्धको जस्तो अवस्था बनेको पनि इटलीले जनाएको छ ।
आइतवार भएको डुंगा दुर्घटनाका आठ सय आप्रवासीसहित यस वर्ष मात्रै १७ सय ५० जना समुन्द्रमा डुबेर मारिइसकेका छन् ।
मध्य पूर्व र अफ्रिकी मुलुकहरुमा मच्चिएको युद्ध र गरीबीका कारण अवैध ढंगले डुंगामा क्षमताभन्दा बढी मानिस कोचेर ल्याउँदा थुप्रैं मानिसको डुबेरै मृत्यु हुने गरेको छ ।
अघिल्ला वर्षको तुलनामा यस वर्ष ३० गुणा बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन आइओएमले जनाएको छ ।- एजेन्सी