अमेरिकाले राहत र पुनःस्थापनमा सघाउने

२०७२ जेष्ठ १ गते, शुक्रबार

काठमाडौं, १ जेठ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालमा उत्पन्न प्राकृतिक प्रकोपको प्रभावको स्थितिमा राहत र पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।मध्य तथा दक्षिण एसियाका लागि अमेरिकी सहायकमन्त्री निशा विश्वाल देसाइँले शुक्रबार प्रधानमन्त्री सुशील कोइरालालार्इ भेटेर ओबामाको सन्देश सुनाएका हुन् ।
भेटपछि प्रधानन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा दिनेश भट्टराईले पत्रकारहरुलाई सहायकमन्त्री देसाइँले दुःखको अवस्थामा नेपालको प्राथमिकतामा रहेर राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि सहयोग गर्न तयार रहेको बताएको जानकारी दिए ।
देसाइँले अबको निर्माणलाई कसरी बलियो बनाउने भन्नेबारेमा आफूसँग भएका अनुभवका आधारमा सहयोग गर्ने र यस काममा नेपाललाई सफलता मिलोस् भनी कामना गरेका छन् ।
सो अवसरमा तीन दिनदेखि हराइरहेको अमेरिकी हेलिकोप्टरको खोजीका विषयमा पनि कुराकानी भएको र खोजीका लागि भएका सबै प्रयासका बारेमा अवगत गराइएको थियो । भेटमा नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडी पनि उपस्थित थियो ।

प्रतिक्रियाहरु

[anycomment]