फ्रान्ससग डरायो अमेरिका
काठमाडौं, १० असार । अमेरिकी राष्ट्रपति बराक ओबामाले फ्रान्सेली राष्ट्रपति फ्रास्वाँ ओलाण्डलाई आइन्दा आफ्नो देशले फ्रान्सको जासूसी नगर्ने आश्वासन दिएका छन् । अमेरिकाले आफू र आफ्ना दुई पूर्ववर्तीको जासूसी गरेको खुलेपछि क्रूद्ध बनेका फ्रान्सेली राष्ट्रपति ओलाण्डलाई टेलिफोन गर्दै ओबामाले अब आफ्नो देशले जासुसी नगर्ने आश्वास दिएका हुन । ओबामाले आफूहरुले जासूसी नगरेको र नगर्ने पनि बचन दिनुभएको ह्वाइटहाउसले जनाएको छ । यसबारे थप छलफल गर्न फ्रान्सेली अधिकारीहरु अमेरिका जाने पनि भएका छन् । यही प्रकरणमा राष्ट्रपति ओलाण्डले पेरिसस्थित अमेरिकी राजदूतलाई बोलाएर स्पष्टीकरण लिँदै आफ्नो देशको सुरक्षा जासूसी गर्ने अमेरिकी हर्कत कुनै हालतमा सैह्य नहुने चेतावनी दिएका थिए ।
अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएले फ्रान्सेली राष्ट्रपति ओलाण्ड, पूर्व राष्ट्रपति निकोलस सार्कोजी, ज्याक सिराकको जासूसी गरेको खुलासा विकिलिक्सले गरेपछि अमेरिकी–फ्रान्सेली सम्बन्ध बिग्रेको हो । फ्रान्सको सुरक्षा र हितमा क्षति पुर्याउने कुनै कदम स्वीकार्य हुन नसक्ने भन्दै ओलाण्डले अमेरिकाले आइन्दा यस्ता हर्कत नगर्ने बाचा गर्नुपर्ने बताएका थिए ।
एनएसएले सन् २००६ देखि सन् २०१२ सम्म फ्रान्सेली राष्ट्रपतिहरु ओलाण्ड, सार्कोजी र शिराकको जासूसी गरेको दावी विकिलिक्सको छ । एनएसएमाथि यसअघि पनि जर्मन चान्सलर एन्जेला मर्केल र ब्राजिलियन एवं मेक्सिकन नेताहरुको जासूसी गरेको आरोप लागिसकेको छ । – एजेन्सी