ग्रीसले आर्थिक प्याकेज लिनेबारे जनमत संग्रह गर्ने

२०७२ असार १२ गते, शनिबार

काठमाडौं, १२ असार । आर्थिक संकटमा फसेको ग्रीसले आफ्नो देशले पाउने आर्थिक प्याकेज लिनेबारेमा जनमत संग्रह गर्ने भएको छ प्रधानमन्त्री एलेक्सिस तिसप्रासले राहत प्याकेजबारेमा ५ जुलाईमा जनमत संग्रह गर्ने घोषणा गरेका हुन् । ग्रीक टीभीमा संबोधन गर्दै उनले दाताले तयार पारेको सम्झौताबाट यूरोपीय मूल्य र नियमको उल्लंघन भएको तथा ग्रीकका जनताले अपमान ब्यहोर्नु परेको उल्लेख गरे । शनिबार हुने यूरोजोनका अर्थमन्त्रीहरुको बैठक अगाडि ग्रीक प्रधानमन्त्रीले जनतालाई स्वतन्त्रतापूर्वक जनमत संग्रहमा भाग लिन अह्वान गर्दै कसैको मोलमोलाईमा नपर्न आग्रह पनि गरे ।
यसअघि बेल्जियमको ब्रसेल्समा भएको छलफलमा ऋणदाताहरुले ग्रीसको राहत प्याकेज कार्यक्रम अरु पाँच महिना बढाउने प्रस्ताव गरेका थिए ।
यस प्रस्तावअन्तर्गत ग्रीसलाई साँढे १५ अर्ब यूरो दिइने छ । तर त्यो उसले लागू गर्ने आर्थिक सुधार कार्यक्रममा भरपर्ने छ । आर्थिक सुधारका रुपमा खर्च कटौति गर्दै कर वृद्धि गर्न ग्रीसमाथि दबाब छ । ३० जूनसम्म आईएमएफको ऋण तिर्न ग्रीसले साँढे एक अर्ब यूरो दिनुपर्ने हुन्छ । पछिल्लो ६ वर्षदेखि आर्थिक मन्दीमा फसेको ग्रीसले आईएमएफको ऋण चुक्ता गर्न नसके टाट पल्टेको घोषणा हुनसक्ने खतरा औल्याइएको छ । दाता मुलुकले तयार पारेको प्रस्ताव अत्यधिक उदार रहेको भन्दै स्वीकार्न जर्मन चान्सलर एन्जेला मर्केलले ग्रीसलाई आग्रह गरेकी छिन् । –एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]