ग्रीसमा सबै बैंक बन्द गर्ने तयारी
काठमाडौं, १४ असार । ग्रीसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले मुलुकका सबै बैंक बन्द गरेर पूँजीमाथिको नियन्त्रण कायम गरिने बताएका छन् ।
बैंकहरुबाट एक हप्तासम्म रकम निकाल्नका साथै कामकाजमै रोक लगाइएको छ । यूरोपियन सेन्ट्रल बैंक ईसीबीले ग्रीसलाई आपतकालीन सहयोग रकम उपलब्ध गराउन नसक्ने बताएलगत्तै प्रधानमन्त्री सिप्रासले बैंक बन्द गरेर रकम निकाल्न नदिने बताएका हुन् । जुन ३० अर्थात् मंगलबारसम्ममा ग्रीसले अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफलाई डेढ अर्ब यूरोभन्दा बढी रकम तिनुपर्ने छ । उक्त रकम तिर्न सक्ने अवस्थामा ग्रिस छैन ।
तिर्न नसके ग्रीसलाई यूरोजोनबाट बाहिर राख्दै उसको अर्थव्यवस्था टाट पल्टेको घोषणा हुनसक्ने खतरा छ ।
यस्तोमा बैंकमा जम्मा गरेको पैसा निकाल्न सर्वसाधारण ओइरिएपछि बैंकहरु बन्द गर्नुपरेको हो ।
सर्वसाधारणको दबाबबाट बच्नकै लागि प्रधानमन्त्रीले आह्वान गरेको जनमत संग्रहको दिन जुलाई ५ भन्दा दुई दिन पछिसम्म अर्थात् जुलाई ७ सम्म बैंकहरु बन्द गरिने बताइएको छ ।
पैसा निकाल्न नियन्त्रणस्वरुप बैंकबाट एक व्यक्तिले एउटा खाताबाट एक दिनमा ६० यूरोभन्दा बढी निकाल्न नपाउने तथा देश बाहिर पैसा पठाउन नपाइने नियम लगाइएको छ ।
प्रधानमन्त्री सिप्रासले भने ५ जुलाईमा जनमत संग्रह घोषणा गर्दै ऋणदाताहरुले राखेका शर्त नस्वीकार्ने पक्षमा मतदान गर्न जनतासँग अपील गरेका छन् ।
अन्तर्राष्ट्रिय ऋणदाताहरुले थोपरेको शर्तहरु ग्रीसको सार्वभौमिकता र प्रजातन्त्रको सामान्य मूल्यको पनि उल्लंघन भएको दावी उनको छ ।
ऋणदाताहरुले भने नयाँ राहत प्याकेजबारेमा समझदारी भइरहेकै बेला ग्रीसले एकतर्फी रुपमा सम्झौता तोडेको आरोप लगाएका छन् ।
ग्रीस संकटकै बारेमा अमेरिकी राष्ट्रपति बराक ओबामा र जर्मन चान्सलर एञ्जेला मर्केलले टेलिफोन वार्ता गर्दै ग्रीसलाई यूरोजोनमै टिकाइराख्न के गर्न सकिन्छ भन्नेमा छलफल गरेका छन् । – एजेन्सी