चीनले गोप्य सूचना चोर्यो : हिलारी
काठमाडौं, २१ असार । अमेरिकी पूर्वविदेशमन्त्री तथा राष्ट्रपति उम्मेदवारकी दाबेदार हिलारी क्लिन्टनले चीनले आफ्नो देशको गोपनीयता चोरिरहेको आरोप लगाएकी छन्। ‘ह्याकिङ’को माध्यमबाट चीनले व्यावसायिक गोपनीयता र सरकारी सूचना प्राप्त गरिरहेको उनको दाबी छ।
अमेरिकामा परिवर्तन हुन नसक्ने सबैथोक हयाकबाट चीनले प्राप्त गरिरहेको दाबी गर्दै उनले त्यसबारे निगरानी गर्न सरकारसँग आग्रह गरिन्। सन् २०१५ को सुरुमा सरकारी निकायका अभिलेख व्यापक ह्याक भएका थिए, त्यसमा चीनको हात रहेको अधिकारीहरूले आरोप लगाउँदै आएका छन्। चीनले त्यसमा आफ्नो संलग्नता नरहेको बताउँदै आएको छ।
न्यु ह्याम्पसायरमा आफ्नो अभियानका क्रममा क्लिन्टनले त्यस्तो आरोप लगाएकी हुन्। चीनको शान्तिपूर्ण वृद्धि आफूले देख्न चाहेको र त्यसमा अमेरिका पूर्ण सतर्क रहनुपर्ने पनि उनले बताइन्।
‘चिनियाँ सेनामा तीव्र वृद्धि भइरहेको छ, सैनिक एकाइहरू धमाधम स्थापना भइरहेका छन्, द्विपक्षीय सन्धिका बाबजुद अमेरिकालाई धम्क्याउन थालेका छन्,’ उनले भनिन्, ‘फिलिपिन्सकै नियति दोहोरिएको छ, जहाँ प्रतिस्पर्धी सम्पत्ति निर्माण भइरहेको छ।’ गत जुनमा व्यक्तिगत व्यवस्थापन कार्यालयबाट विवरण चोरी भएको घटनामा अधिकारीहरूले चीनमाथि आरोप लगाएका छन्। त्यस घटनामा चीनलाई मुख्य शंका गरिएको अमेरिकी गुप्तचर प्रमुख जेम्स क्लेपरले बताए। चीनले भने गैरजिम्मेवार र अवैज्ञानिक आरोप भएको बताउँदै आएको छ। – बीबीसी