अमेरिकाले ४० हजार सैनिक हटाउँदै
काठमाडौं, २३ असर । अमेरिकाले आगामी दुई वर्षभित्र भारी मात्रामा सैनिक कटौती गर्ने निर्णय गरेको छ । खर्च कटौतीका लागि आगामी दुई वर्षभित्र ४० हजार सैनिक कटौती गर्ने निर्णय गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले १७ हजार गैरसैनिकको पनि कटौती गर्ने निर्णय गरेको जनाएको छ । यो निर्णयसँगै अब अमेरिकी सेनाको संख्या सन् २०१७ मा साढे चार लाखमा सीमित हुनेछ । इराक र अफगानिस्तनमा युद्धको अवस्थामा रहँदा सन् २०१२ सम्म अमेरिकासँग ७ लाख ५० हजार सैनिक थिए ।
अमेरिकामा सन् २००१ मा आतंकवादी हमला हुनुभन्दा एक वर्ष अघिसम्म सेनाको संख्या ४ लाख ८० हजार थियो । त्यसपछि ‘आतंकवादविरुद्धको लडाइँ’ भन्दै एक दशकको अवधिमा झन्डै २ लाख ७० हजार सेना थपिएको थियो ।
अमेरिकी राष्ट्रपति बाराक ओबामा प्रशासनले सैन्य खर्च कटौती गर्ने घोषणा गरेसँगै सन् २०१२ देखि भने सैन्य बलमा भारी मात्रामा कटौती गर्न थालिएको हो ।
वार्षिक बजेटमा प्रस्ताव गरेअनुसार सैन्य खर्चमा कटौती गर्ने हो भने अमेरिकाले प्रस्तावित ४० हजार सेना कटौती गरेपछि पनि थप ३० हजार सेना कटौती गर्नुपर्ने विज्ञहरुको बताएका छन् ।- एजेन्सी