युरोजोनको प्रस्ताव ग्रिसको संसद्बाट स्वीकृत
काठमाडौं, ३१ असार । आर्थिक सहायता प्रदान गर्न युरोजोनले राखेको कडा सर्तसहितको प्रस्ताव ग्रिसले स्वीकार गरेको छ ।युरोजोनले प्रस्ताव गरेको सुधारका कार्यक्रम लागू गर्न ग्रिसको संसद्ले स्वीकृति दिएको हो ।प्रस्तावित सुधार कार्यक्रम लागू गर्ने या नगर्ने विषयमा संसद्मा निकै ठूलो बहस भएको थियो ।
त्यसक्रममा प्रधानमन्त्री एलेक्सिस स्रिपासले युरोजोनको सर्तप्रति आफू सहमत हुन नसके पनि त्यसको विकल्प नभएको बताए ।उनले संसद्समक्ष युरोजोनको प्रस्तावप्रति समर्थन नभए आफू प्रधानमन्त्री पदमा रहिरहन नसक्ने बताए ।संसद्मा प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा उनका समर्थकले उभिएर अभिनन्दन गरेका थिए भने केही सांसद्ले विरोध गरेका थिए ।युरोजोनको प्रस्ताव स्वीकृत भएसँगै अब ग्रिसले ८६ अर्ब युरो सहयोग पाउने छ ।
यसैबीच आर्थिक सुधारको विरोध गर्नेहरुले संसद्बाहिर प्रदर्शन गरेका छन् । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।प्रदर्शनकारीहरुले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेको र प्रहरीले पनि अश्रुग्यास प्रहार गरेको बताइएको छ । –एजेन्सी