मुसा मारेर पुरस्कृत !
काठमाडौं, २२ असोज । बंगलादेशका एक कृषकले वर्षमा एक लाख ६१ हजारभन्दा बढी मुसा मारेर पुरस्कार प्राप्त गरेका छन् । बंगलादेशी कृषक अब्दुल खालेक मिरबोहोरले एक वर्षमा एक लाख ६१ हजार दुई सय २० वटा मुसा मारेर २० हजार टाका अर्थात् १५५ पाउन्ड रकम पुरस्कारस्वरुप प्राप्त गरेका हुन् ।
क्षेत्रीय कृषि कार्यालयले अब्दुलबाट उक्त संख्यामा मुसा मारिएको पुष्टि गरेको हो । एक अभियान अन्तर्गत उनले वर्षभरी मुसा मारेको र मारिएका मुसाका पुच्छर स्थानीय कृषि कार्यालयलाई प्रमाणस्वरुप बुझाएको बताइन्छ । सोही आधारमा उनी बंगलादेशमै सर्वाधिक मुसा मार्ने कृषकका रुपमा पुरस्कृत भएका हुन् ।
मुसाले वार्षिक रुपमा ठूलो परिमाणमा अन्न खाने र नोक्सान गर्ने क्रम बढेपछि सरकारले नै मुसा मार्ने अभियानलाई प्रोत्साहन गरेको हो ।
पुरस्कार वितरणका लागि आयोजित कार्यक्रममा अब्दुललाई ‘मुसाको हत्यारा’ का रुपमा प्रस्तुत गरिएको थियो । उनले धेरैजसो महिला स्वयंसेवकलाई मुसा मार्ने अभियानमा परिचालन गरेका थिए । गहुँ तथा धान खेतमा मुसा मार्ने र मारिएका मुसाको पुच्छर संकलन गरी स्थानीय कृषि कार्यालयमा बुझाउने गरेको उनले बताए । ५५ वर्षीय अब्दुलले मुसा मार्ने काम सन् १९९६ देखि नै गर्दै आएको बताए । उनले मुसा देश र जनताकै दुश्मन भएको बताए । बंगलादेशमा डेढ मिलियनदेखि दुई मिलियनसम्म खाद्यान्न वार्षिक रुपमा मुसाले नष्ट गर्दै आएको सरकारी अधिकारीहरु बताउँछन् ।- एजेन्सी