अफगानिस्तानमा बेलायती सेनाको हेलिकोप्टर दुर्घटना

२०७२ आश्विन २५ गते, सोमबार

काठमाडौं, २५ असोज । अफगानिस्तानमा बेलायती सेनाको हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । ‘पुमा एम के–२’ सैन्य हेलिकोप्टर अफगानिस्तानको राजधानी काबुलमा नजिकै रहेको नेटोको प्रशिक्षण स्थलमा अवतरण गर्ने क्रममा स्थानीय समय अनुसार आइतबार दिउँसो ४ः१५ बजे दुर्घटना भएको हो ।
बेलायतको रक्षा मन्त्रालयका अनुसार मृत्यु हुनेमा दुई जना बेलायती सैनिक छन् । अधिकारीहरुका अनुसार मृतक बेलायती सैनिकका परिवारलाई भने दुर्घटनाको जानकारी अझै दिइएको छैन । मृतक अन्य तीन जनाको पहिचान खुलाइएको छैन । बेलायती रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘दुर्घटनाबारे छानविन भइरहेको छ, यद्यपी यो केवल दुर्घटना हो, विद्रोही गतिविधिको परिणाम होइन ।’ – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]