रुस र अमेरिकाबीच गोप्य सम्झौता
काठमाडौं, ४ कार्तिक । सिरियामा विद्रोहीविरुद्ध हवाई हमला गर्दै आएका रुस र अमेरिकाले एकापसमा द्वन्द्व नहुने गरी कारबाही चलाउने सम्झौता गरेका छन् ।
विश्वका दुई ठूला सैन्य शक्ति राष्ट्रहरु सिरियाली आकाशमा उत्रिएपछि एकापसमा भिडन्तको त्रास बढेको थियो । सम्भावित द्वन्द्व टार्न दुबै मुलुकका सैन्य अधिकारीहरुबीच ‘गोप्य सम्झौता’ भएको बताइएको छ ।सिरियामा जारी हवाई हमलाको क्रममा रुसी र अमेरिकी सेना एकापसमा नभिडुन् भनेर गोप्य सम्झौता गरिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । मस्कोको आग्रहमा सम्झौताको विवरण गोप्य राखिएकोसमेत पेन्टागनले दाबी गरेको छ ।
गत हप्ता सिरियामा हवाई हमलाका क्रममा रुसी र अमेरिकी युद्धक विमान आमने–सामने भएपछि सम्भावित भिडन्त टार्न यस्तो सम्झौता गरिएको बताइएको छ ।
सिरियाका विद्रोहीविरुद्ध अलग–अलग कारबाही गरिरहेका रुस र अमेरिका सिरियाको आन्तरिक मामिलामा भने दुई ध्रुवमा उभिएका छन् ।
रुसले सिरियाका राष्ट्रपति बसर अल असदको सत्तालाई वैधानिक भन्दै चाहेजस्तो सहयोग दिँदै आएको छ भने अमेरिकालगायतका पश्चिमा राष्ट्रहरु सिरियन संस्थापनलाई सत्ताच्युत गर्न विद्रोहीहरुलाई सघाउँदै आएका छन् । तर, पछिल्लो समय सिरिया र इराकलगायतका राष्ट्रमा इस्लामिक स्टेट (आइएस) विद्रोहीको पकड बढ्दै गएपछि रुस र अमेरिका एकै ठाउँमा आइपुगेका हुन् ।
दुबै राष्ट्रले सिरियामा जारी हवाई हमला आइएसविरुद्ध लक्षित रहेको दाबी गरेका छन् । तर, विश्लेषकहरु भने रुसी हवाई आक्रमण सिरियाली राष्ट्रपति असदको सत्ता टिकाउन प्रयोग भइरहेको र अमेरिका त्यही सत्ता ढाल्न हवाई हमला गरिरहेको बताउँछन् । – एजेन्सी