भूकम्पबाट सयौको मृत्यु हजारौ घाइते
काठमाडौ १० कार्तिक । अफगानिस्तानलाई केन्द्रबिन्दु बनाएर सोमबार गएको ७.५ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी पाकिस्तान र अफगानिस्तानमा गरी कम्तीमा २६० जनाको मृत्यु भएको छ । भूकम्पका कारण घाइते भएकाहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । पाकिस्तानको खैवर पख्तुन्वा र फाटामा ठूलो क्षति भएको छ । थुप्रै बेपत्ता भएका छन् । भत्किएको भवनमा मानिसहरु पुरिएकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । भूकम्पबाट एक हजारभन्दा बढी मानिस घाइते भएका छन् ।
भारतका ११ राज्यमा भूकम्पले असर पारेको छ । जम्मु–कश्मिरमा पनि केहीको मृत्यु भएको जनाइएको छ । अमेरिकी जियोलोजिकल सर्भेले भूकम्पको केन्द्रबिन्दु जार्म शहरदेखि ७६ किलोमिटर दक्षिण पश्चिम पहाडी क्षेत्रमा जमिनदेखि २ सय किलोमिटर गहिराइमा रहेको जनाएको छ । पाकिस्तानी भूकम्प मापन केन्द्रले भने ८ दशमलव १ रेक्टर स्केलको भूकम्प मापन गरेको छ । इस्लामावादमा करिब दुई मिनेटसम्म भवनहरु हल्लिएको थियो ।यता, भूकम्पको धक्का नेपालसहित दक्षिण एसियाका सबै देशमा महसुस भएको थियो ।- एजेन्सी