बहुपक्षीय वार्तामा इरान पनि सहभागि हुने
काठमाडौं, १२ कार्तिक । सिरिया संकटबारे अष्ट्रियाको भियनामा हुने बहुपक्षीय वार्तामा इरानले पनि भाग लिने भएको छ । आफूहरुलाई आएको निम्तोको समीक्षा गरिएको र उक्त वार्तामा विदेशमन्त्री जावेद जरिफले सहभागिता जनाउने विदेश मन्त्रालयका प्रवक्ता मर्जीह अफखमले जानकारी दिए ।
इरान अमेरिकाको साथ यस्तो बहुपक्षीय वार्तामा संलग्न हुन लागेको यो पहिलो अवसर भएको पनि बताइएको छ । वार्तामा रुस, सउदी अरब र टर्कीका साथै सिरिया र इराकका प्रतिनिधि पनि सामेल रहने छन् ।
बिहीबार बेलुकीदेखि नै वार्ता सुरु हुने र शुक्रबार टुंगोमा पुग्न सकिने बताइएको छ । सिरियाई विपक्षीले भने इरानको संलग्नताले स्थिति जटिल हुने आशंका गरेको छ ।
इरानले बितेको चार वर्षमा असदको सत्ता टिकाउन अरबौं डलर खर्चेको असदका विपक्षीले आरोप लगाउँदै आएका छन् । साढे दुई लाख मारिएको सिरियाई गृहयुद्धका कारण लाखौंलाख नागरिक बेघर भएका छन् ।
सिरियाको मामलामा अमेरिकाले आफ्नो नीति प्रष्ट गर्न नसकेको आरोप छ भने रुसले राष्ट्रपति बशर अल असदको पक्षमा खुलेर समर्थन दिँदै आएको छ ।
यता रुसले भने २४ घण्टाको अन्तरालमा अतिवादीको ११८ केन्द्रमा लडाकू विमानले आक्रमण गरेको पनि जनाएको छ । – एजेन्सी