आइएसविरुद्ध रुसी गठबन्धन सेनाद्वारा हवाई हमला
काठमाडौ, २० कात्तिक । रुसी गठबन्धन सेनाले सिरियाको ऐतिहासिक शहर पाल्माइरा नजिक पकड जमाई बसेका इस्लामिक आतंकवादी समूह ‘आईएस’ बिरुद्ध गरेको हवाई कारबाहीमा केही आईएस कार्यकर्ता घाइते भएका छन् ।
पाल्माइरा शहरबाट लखेटिएका आईएसका कार्यकर्ता ठूलो मात्रामा बिस्फोटक पदार्थ र ट्यांकसहित पकड जमाई बसेको लाताकिया प्रान्तमा रुसी गठबन्धन सेनाले हवाई आक्रमण गरेको हो ।
आक्रमणमा थुप्रै हतियार र दुईवटा ट्यांक पनि नष्ट भएका छन् । रुसी गठबन्धन सेनाले यो साता मात्रै २६३ स्थानलाई लक्षित गरी हवाई आक्रमण गरेको छ । जसका कारण आईएसको दर्जनौं हतियार नष्ट भएका छन् ।
पाल्माइरा शहर पुनः कब्जा गर्ने उद्देश्यका साथ सो शहरबाट ३० किलोमिटर टाढा रही अमेरिकी गठबन्धन सेनासँग लड्दै आएको आइएस भने रुसी गठबन्धन सेनाको हवाई आक्रमणले केही हदसम्म हार ब्यहोर्न बाध्य भएको छ । – एजेन्सी