पेरिस आक्रमणमा संलग्न नवौं व्यक्तिको खोजी सुरु
काठमाडौं, २ मंसिर । गत शुक्रबार फ्रान्सको पेरिसमा गरिएको शृङ्खलाबद्ध आतंकवादी आक्रमणमा संलग्न भएको आशंकामा नवौं व्यक्तिको खोजी सुरु गरिएको छ । पेरिस आक्रमणको सिसिटिभी भिडियोका आधारमा प्रहरीले नवौं आक्रमणकारीबारे सूचना पाएको दाबी गरेको छ । आक्रमणमा यसअघि ८ जना संलग्न रहेको बताईंदै आइएको थियो । तर शहरको सिसिटिभी फुटेजमा नवौं आतंकवादीको भिडियो देखिएपछि उनका बारेमा छानविन र खोजी तिव्र पारिएको हो ।
१ सय २९ जनाको ज्यान जाने गरी पेरिसका विभिन्न ६ ठाउँमा भएका शृङ्खलाबद्ध आक्रमणको जिम्मा इस्लामिक विद्रोही समुह आइएसले लिएको छ ।
फ्रेन्च सेनाले अमेरिकी नेतृत्वको गठबन्न सेनामार्फत सिरियास्थित आइएसका अखडाहरुमा भिषण हमला गरिरहेको बेला पेरिसमा भने झण्डै १ लाख २५ हजार सुरक्षाकर्मी शहरको सुरक्षा र आक्रमणकारीको खोजीमा जुटेका छन् ।- एजेन्सी