आइएसका ३२ लडाकु मारिए
काठमाडौं, २१ मंसिर । इस्लामिक अतिवादी संगठन आइएसका गढ मानिएको सिरियाको रक्कामा गरिएको हवाई आक्रमणमा आइएसका ३२ लडाकु मारिएका छन् । अमेरिकी नेतृत्वको गठबन्धन सेनाले रक्का शहरमा आइएसको केन्द्रमा गरेको हवाई आक्रमणमा ४० भन्दा बढी लडाकु घाइते भएको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमनराइट्ले जनाएको छ ।
रक्का शहरको उत्तरी, पूर्वी तथा दक्षिण पूर्वी क्षेत्रमा रहेका आईएस केन्द्रलाई लक्षित गरी १५ वटा हवाई आक्रमण गरिएको थियो । यस्तै मध्य सिरियाको पालमायर शहरस्थित आईएस अखडामा भने रुसी लडाकु विमानले हवाई आक्रमण गरेका छन् । रुसी विमानले ४५ भन्दा धेरै आक्रमण गरेको र त्यसबाट भएको क्षतिको विवरण नआएको मानवअधिकारवादी संस्थाले जनाएको छ ।
अमेरिकी नेतृत्वको गठबन्धन सेनाले इराक तथा सिरियामा आईएसलाई लक्षित गरेर हवाइ आक्रमण गर्दै आएको छ । रुसले पनि आफ्ना लडाकु विमानमार्फत आइएसविरुद्ध आक्रमण गर्दै आएको छ ।
फ्रान्सको राजधानी पेरिसमा एक सय ३० जनाको हत्या गरेपछि बेलायत र जर्मनी पनि अमेरिकी नेतृत्वको गठबन्धन सेनामा सामेल भएका छन् । – एजेन्सी