आइएसका तीन नेता मारिए
काठमाडौ, २५ मंसिर । अमेरिकी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई हमलामा इस्लामिक स्टेटका वित्तीय प्रमुखसहित तीन नेताको मृत्यु भएको छ ।
अमेरिकी सेनाका प्रवक्ताले हालै गरिएको हवाई हमलामा अबु सालेह र अन्य दुई नेताको मृत्यु भएको जनाएका हुन् । सेनाले यसबारे थप जानकारी भने दिएको छैन ।
अमेरिकी सेनाका प्रवक्ता कर्णेल स्टिव बारेनले इराकको राजधानी बग्दादबाट एक भिडियो सन्देश जारी गर्दै तीन नेताको मृत्यु भएको पुष्टि गरेका हुन् । मारिनेमध्ये इराकी नागरिक अबु सालेह अमेरिकी सेनाको प्रतिबन्धित व्यक्तिको सूचीमा थिए । उनी चरमपन्थी समूहको वित्तीय नेटवर्कका सबैभन्दा वरिष्ठ र अनुभवी सदस्य मानिन्थे ।
त्यसैगरी मारिने अन्य दुई जना फिरौती र अपहरणमा संलग्न थिए । अमेरिकी नेतृत्वको गठबन्धनले आइएसलाई परास्त गर्न सिरिया र इराकमा हमला गरिरहेको छ । यसअघि पनि गठबन्धन सेनाले गरेको कारबाहीमा आइएसका एक नेताको लिवियामा मृत्यु भएको थियो । – एजेन्सी