मोदी : धार्मिक द्वन्द्व निम्त्याउदै
काठमाडौं, ६ पुस । भारतको अयोध्यामा राम मन्दिर बनाउन भन्दै धमाधम ढुंगा थुपार्न थालिएको छ । आइतबार पहिलो खेपअन्तर्गत दुई ट्रक ढुंगा अयोध्यामा ल्याइएको छ । विश्व हिन्दू परिषदको अगुवाईमा अयोध्यामा राम मन्दिर निर्माणको तयारी गरिएको हो । उक्त संगठनका प्रवक्ता शरद शर्माका अनुसार अयोध्याको राम सेवक पुरममा दुई ट्रक ढुंगा आइतबार भित्रिएको छ । राम जन्मभूमिका अध्यक्ष महन्त नृत्य गोपाल दासले शिला पुजनसमेत गरेका छन् । महन्त दासका अनुसार केन्द्र सरकारबाट संकेत पाएपछि मन्दिर निर्माणको कामलाई गति दिन थालिएको हो । अयोध्यामा राम मन्दिर निर्माणका लागि अब लगातार ढुंगा ल्याइने उनले बताए ।
अयोध्या सहरमा यसअघि पनि हिन्दु र मुस्लिमबीच द्वन्द्व भएको थियो, जसको असर भारतभर देखिएको थियो । हिन्दुहरुले अयोध्यालाई राम जन्मभूमि भन्दै त्यहाँ रामको मन्दिर हुनुपर्ने बताउँदै आएका छन् भने मुस्लिमहरुले सो क्षेत्रमा बाबरी मस्जिद कायम हुनुपर्ने बताउँदै आएका छन् ।
भूमि विवादसम्बन्धी मुद्दा अदालतमा विचाराधिन रहेकै समयमा राम मन्दिर निर्माणका लागि भन्दै अयोध्यामा ढुंगा ल्याउन थालिएपछि सो क्षेत्रमा धार्मिक द्वन्द्व चर्किने संकेत देखिएको हो ।
जानकारहरुका अनुसार केन्द्र सरकार र राज्य सरकारबीच समेत यो मामलामा द्वन्द्व चलिरहेको छ । हिन्दु धर्म पक्षधर केन्द्र सरकारले राम मन्दिर निर्माणमा जोड दिइरहेको छ भने उत्तर प्रदेश राज्य सरकारले अदालतमा मुद्दा बिचाराधिन रहेको अवस्थामा कुनै प्रकारको संरचना निर्माण गर्न नहुने अडान राख्दै आएको छ । – एजेन्सी