भारतमा डिप्लोमा पास गरेका ३ हजार भिखारी

२०७२ माघ ३ गते, आईतवार

काठमाडौं । भारतमा भिखारीको संख्या अत्यधिक भएको तथ्य खुलेको छ । अझ रोचक कुरा त ७८ हजार भारतीय भिखारी १२ कक्षा पास गरेका छन् भने ३ हजार बढीले डिप्लोमा पास गरेका छन् । भारतमा २०११ मा गरिएको जनगणनाअनुसार पेसागत रुपमा कुनै काम नगर्ने र उनीहरुको शैक्षिकस्तरअनुसार भारतमा ३ लाख ७२ हजार भिखारी छन् । यसमध्ये ७८ हजारले उच्च माध्यमिक वा त्योभन्दा बढी अध्ययन गरेका छन् । भारतमा तीन हजारभन्दा बढी पेसेवर भिखारीसँग डिप्लोमा या ग्रेजुएसनको डिग्री छ । उनीहरु भिखारी बन्न रहर नभई बाध्यता भएको दावी गर्छन् । पढेलेखेका र डिग्री हासिल गरेपछि सन्तोषजनक रोजगारी नपाएपछि उनीहरु भिखारी बनेको बताउँछन् । अहमदावादस्थित भद्रकाली मन्दिरमा ३० जनाको समूहका साथ भिख मागिरहेका १२ औं कक्षा उत्तीर्ण गरेका दिनेश खोधाभाई भन्छन्– म दिनमा २ सय रुपैयाँ कमाउँछु, जुन मैले गरेको पछिल्लो रोजगारीभन्दा बढी हो । मैले अन्तिम पटक एउटा अस्पतालमा वार्ड ब्वायको जागिर खाएको थिएँ । त्यहाँ मैले दिनको १ सय रुपैयाँ पाउने गरेको थिएँ । फरर अंग्रेजी भाषा बोल्ने उनी भन्छन्, म गरिब हुन सक्छु तर म इमान्दार छु ।
५२ वर्षीय बीकम तेस्रो वर्षमा फेल भएका सुधीर बाबुलाल दिनमा १५० कमाउँछन् । अहमदावादको वीजापुर गाउँका सुधीर राम्रो जागिरको सपनामा यहाँ आएका थिए । जागिर त पाए तर दिनमा १० घण्टा काम गर्दा महिनामा ३ हजार पाउँथे । सुधीर भन्छन्–श्रीमतीले छोडेपछि म नदी किनारमा सुत्छु र भिख माग्छु ।
५२ वर्षीय दशरथ एउटा अर्का भिखारी हुन् । उनले गुजरात विश्वविद्यालयबाट एमकम गरेका छन् । उनी तीन सन्तानमा पिता पनि हुन् । सरकारी जागिरको तयारीका लागि दशरथले निजी जागिर छाडेका थिए । अहिले उनी निःशुल्क खाना खुवाउने संस्थाको माध्यमबाट बाँचिरहेका छन् । उनकी आमा उपचारका लागि अस्पतालमा भर्ना भएकी छन् । भिखारीहरुका लागि काम गर्ने मानव साधाना एनजीओका वीरेन जोशी भन्छन्– भिखारीहरुको पुनर्बास कठिन छ । उनीहरु सजिलै पैसा कमाइरहेका छन् । समाजशास्त्री गौरांग जानीका अनुसार ‘डिग्री लिएपछि मानिसहरु भिख मागिरहेका छन्, यसले देशको बेरोजगारीको स्थिति झल्काउँछ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]