राजमार्ग र पुल चोरियो !

२०७२ माघ ६ गते, बुधबार

काठमाडौं, ६ माघ । चोरले नगद तथा जिन्सी सामान चोरेको घटना सामान्य नै हो तर ५० किलोमिटर लामो सडक नै चो-यो भन्दा पत्यार नलाग्न सक्छ । रुसमा यस्तै एक घटना प्रकाशमा आएको छ । चोरले महिनौं लगाएर एउटा राजमार्ग नै चोरी गरेको प्रहरीले जनाएको छ । समाचार एजेन्सीहरुका अनुसार ५० किलोमिटर लामो सडकमा बिछ्याइएका कंक्रिट चोरी गरेको आरोपमा एक वरिष्ठ जेल अधिकारीलाई हिरासतमा लिइएको छ ।
प्रहरीका अनुसार हिरासतमा लिइएका ती जेल अधिकारीले करिब एक वर्षसम्म सुदुरउत्तरी क्षेत्र कोमीमा सडक भत्काएका थिए । निकै बलियो कंक्रिटले बनाइएको सो सडक भत्काएर बेचेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।
समाचार एजेन्सीहरुका अनुसार प्रहरीले उनीमाथि सडकका करिब ७,००० कंक्रिट भत्काएर चोरी गरेको आरोपमा पक्राउ गरेको हो । उनले ती कंक्रिट आफ्नो नीजि फाइदाका लागि बेचेका थिए ।
रुसमा चोरले राजमार्गलाई निशाना बनाएको यो नै पहिलो घटना भने होइन । २९ डिसेम्बर २००७ मा रुसकै खैबरोस्क प्रान्तमा २०० टन स्टिलले बनाइएको पुल रातारात चोरी भएको थियो । साढे ११ मिटर लामो सो पुल विद्युत तारमाथि कार आवतजावतका लागि बनाइएको थियो । सो पुलमा ५० सेमीका चारवटा पाइपमाथि स्टिलको पाता लगाइएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]