अमेरिकामा शक्तिशाली हिम आँधी, ८ जनाको मृत्यु
काठमाडौ, ९ माघ । अमेरिकामा शक्तिशाली हिम आँधीका कारण ८ जनाको ज्यान गएको छ। अमेरिको उत्तरपूर्वी तटबाट शक्तिशाली हिम आँधी प्रवेश गरेको हो। यो आँधी अमेरिकामा आएको एक सय वर्ष यताकै सबैभन्दा शक्तिशाली रहेको मौसम विदले बताएका छन् । हिम आँधीका कारण पाँच करोड मानिस प्रभावित हुने आशंका गरिएको छ। ६ राज्यमा आपतकालिन अवस्था घोषणा गरिएको छ। ६ हजार भन्दा धेरै उढान रद्द भएका छन्। विद्यालय, सरकारी कार्यालय तथा यातायात व्यवस्था पनि बन्द गरिएको छ।
वाशिंटनको सडकमा झण्डै ६ इन्च हिउँ जमेको छ। नर्थ क्यारोलिनामा हिम आँधीका कारण झण्डै एक हजार कार एक आपसमा ठोक्किएका छन् । मानिसहरु घर भित्रै बसेका छन् । राजधानी वाशिंटनमा आइतबारसम्ममा ७६ सेन्टिमिटर हिउँ जम्न सक्ने मौसमविदले चेतावनी दिएका छन् । आँधीका कारण टेनिसी, नर्थ क्यारोलिना, भर्जिनिया, मेरील्याण्ड, पेन्सिलभनिया, डिस्ट्रिक अफ कोलबिया र अरु राज्यका केही क्षेत्र बढी प्रभावित हुने जनाइएको छ । यसअघि सन् १९२२ मा आएको दुई दिने हिम आँधीका कारण अमेरिकमा २८ इन्चसम्म हिउँ जमेको थियो। – एजेन्सी