विश्वको आधा श्री सम्पत्ति ६२ जनाको कब्जामा
काठमाडौं । विश्वमा धनी र गरीब बीचको खाडल यति गहिरो बनेको छ की पृथ्वीको आधा श्रोत साधन तथा मानव जातिको नाउँमा रहेको धनसम्पत्ति आधा केवल दुनियाका ६२ जना अर्वपति मानिसहरुले कब्जामा राखेका छन् । एकातर्फ विश्वका गरीब देश तथा मानिसहरु सामान्य जिविकोपार्जनका लागि श्रोत साधनको अभावमा छटपटाइरहेका छन् तथा भोकमरीले ज्यान गुमाउनुपर्ने अवस्था छ भने अर्काेतर्फ केवल ६२ जना मानिसहरुले विश्वको आधा श्रोतसाधनमा रजाइँ गरिरहेका छन् । ती ६२ जना अर्बपति मध्ये ९ जना महिला रहेका छन् ।
अक्सफाम नामक संस्थाले हालै सार्वजनिक गरेको एक रिपोर्ट अनुसार सन् २०१० यता गरीबहरुसँग रहेको कुल धनसम्पत्ति तथा श्रोतसाधनमा ४१ प्रतिशत अर्थात् १० खर्ब डलरले गिरावट आएको छ । यो अपेक्षाकृत भन्दा निकै ठूलो गिरावट हो । जबकी धनाढ्य ६२ जनाको सम्पत्तिमा भने १७।६० प्रतिशत अर्थात् ५ सय अर्बले बढोत्तरी भएको अक्सफामको रिपोर्टले उल्लेख गरेको छ । एन इकोनोमी फर दी वन पर्सेन्ट शीर्षकको उक्त रिपोर्ट अनुसार पछिल्लो एक वर्षमा विश्वमा धनी र गरीब बीचको खाडल झनै चरम रुपमा बढेको छ ।
सन् २०१३ मा विश्वभर ३८८ जना धनी मानिसहरुसँग दुनियाको आधा श्रोत साधन तथा सम्पत्ति थियो । त्यसयता धनीहरुको संख्यामा लगातार गिरावट आयो । सन् २०१४ मा दुनियाको आधा सम्पत्तिका मालिक केवल ८० जना मात्र धनाढ्य थिए । त्यो संख्या अझै घटेर सन् २०१५ मा ६२ मा झरेको छ । अक्सफामका प्रमुख मार्क गोल्डरिंगका अनुसार विश्वमा हरेक नौ जनामा एक जना मानिस हरेक रात भोको पेटमै सुत्ने गरेका छन् । अक्सफामले विश्वका एक प्रतिशत मानिसले अन्य ९९ प्रतिशत मानिसले भन् बढि सम्पत्ति तथा श्रोत ओटगेको अवस्थालाई सम्बोधन गर्न तत्कालै कदम चाल्न अपिल गरेको छ । अक्सफामका अनुसार विश्वका अर्बपतिहरुले निकै चरम रुपमा करछली गरेको र ७।६ ट्रिलियन डलर कर छली गर्दै विदेशी बैंकहरुमा थुपारेको जनाएको छ । यदि त्यसरी थुपारेको धनको कर तिर्ने हो भने विश्वका सरकारहरुलाई १९ खर्ब डलर थप प्राप्त हुने र सो रकम गरीबहरुको हीतमा प्रयोग गर्न सकिने बताइएको छ ।