राष्ट्रपति पुटिन भ्रष्टाचारी भएको आरोप
काठमाडौं, १२ माघ । अमेरिकी आर्थिक विभागले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भ्रष्टाचारी भएको आरोप लगाएको छ । अमेरिकी आर्थिक विभागमा प्रतिबन्ध लगाउन निगरानी राख्ने एडम सुविनले पुटिन भ्रष्टाचारी भएको र अमेरिकी सरकारले केही वर्षदेखि यसको जानकारी पाएको बताएका हुन् ।
अमेरिकी सरकारले यसअघि रुसी राष्ट्रपतिका केही सहयोगीमाथि प्रतिबन्ध लगाइसकेको छ । तर राष्ट्रपतिमाथि पहिलो पटक भ्रष्टाचारको आरोप लगाएको हो ।
रुसी राष्ट्रपतिका प्रवक्ताले भने यो कपोलकल्पित आरोप मात्र भएको दाबी गरेका छन् । एडम सुविनले रुसी राष्ट्रपति पुटिनले आफ्ना मित्रहरुको समृद्धि र विरोध गर्नेहरुलाई किनारा लगाउन राष्ट्रिय सम्पत्ति दुरुपयोग गरेको बताएका छन् । अमेरिकी सरकारका कुनै व्यक्तिले रुसी राष्ट्रपतिमाथि सिधै भ्रष्टाचारीको आरोप लगाएको सम्भवतः यो पहिलो पटक भएको बताइएको छ । – एजेन्सी