मानवअधिकार संगठनद्वारा मोदीको आलोचना
काठमाडौ, १५ माघ । अन्तर्राष्ट्रिय मानवअधिकार संगठनहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका छन् । अन्तर्राष्ट्रिय ह्युमन राइटस् वाच र एमनेस्टि इन्टरनेशनलले आफ्नो वार्षिक प्रतिवेदनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको नेतृत्वको सरकारको आलोचना गरेका हुन् ।
ती संगठनले अल्पसंख्यकमाथिको हमला रोक्न नसकेको, नागरिक अधिकार संगठनमा रोक लगाएको भन्दै मोदी र उनको सरकारको आलोचना गरेका हुन् ।
एमनेस्टि इन्टरनेशनलले ग्रीनपीस र फोर्ड पाउन्डेशन लगायतका गैर सरकारी संस्थालाई उद्धृत गर्दै एनजीओ र समाजसेवी कार्यकर्तालाई निशाना बनाउने र विदेशी कोषमा रोक लगाउने काम गरेको भन्दै मोदीको आलोचना गरेको हो ।
त्यस्तै ह्युमन राइट्स वाचले सन् २०१६ को वार्षिक प्रतिवेदनमा अभिव्यक्ति स्वतन्त्रता माथि भइरहेको हमला रोक्न मोदी सरकार असफल भएको जनाएको छ । ६५९ पृष्ठ लामो प्रतिवेदनमा ह्युमन राइट्स वाचले सरकारको या ठूलो औद्योगिक उत्पादनको विरोध गर्ने एनजिओलाई विदेशी सहायता हासिल गर्न रोक लगाइएको आरोप लगाएको छ ।
एमनेष्टिले सरकारी स्तरमा मानवअधिकारको उल्लंघन व्यापक हुँदै आएको जनाएको छ । अन्तर्राष्ट्रिय कानुनलाई उपेक्षा गर्दै पत्रकार, मानवअधिकार कार्यकर्ता र अन्य व्यक्तिमाथि आपराधिक र देशद्रोहको आरोपमा कारवाही गर्न थालिएकोमा पनि चिन्ता व्यक्त गरिएको छ । – एजेन्सी