फिफामा निर्वाचन हुँदै

२०७२ फाल्गुन १४ गते, शुक्रबार

काठमाडौं, १४ फागुन । स्विट्जरल्याण्डको ज्युरिचमा विश्व फुटबल महासंघ (फिफा)को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । फिफाको अध्यक्ष बन्ने होडमा पाँचजना छन् । एसियाली फुटबल महासंघ (एएफसी)का अध्यक्ष शेख सलमान बिन ईब्राहिम अल खालिफा, जोर्डनका राजकुमार अली बिन अल हुसैन, युएफाका महासचिव जियानी ईन्फान्टिनो, फ्रान्सका जेरोमी स्याम्पेन र दक्षिण अफ्रिकाका टोक्यो सेक्सवेल चुनावी दौडमा छन् । यीमध्ये एएफसी अध्यक्ष शेख सलमान र युएफा महासचिव जियानी ईन्फान्टिनोलाई बलियो दाबेदारका रुपमा हेरिएको छ ।
फिफा अध्यक्षका लागि फिफामा आवद्ध २०७ राष्ट्रले मतदान गर्न पाउने व्यवस्था छ । पहिलो चरणको निर्वाचनमा कुनैपनि उम्मेदवारले बहुमत ल्याउन नसके शीर्ष दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन हुने वैधानिक व्यवस्था छ । अध्यक्षमा चुनिनका लागि उम्मेदवारले कम्तीमा १०४ भोट ल्याउनुपर्ने हुन्छ ।
यसअघि, गत वर्ष पाँचौ कार्यकालका लागि निर्वाचित भएको केही हप्तापछि सेप ब्लाटरले फिफा अध्यक्षको पदत्याग गर्ने घोषणा गरेपछि आजका लागि निर्वाचनको मिति तय गरिएको थियो । आज हुने निर्वाचनलाई फिफा अध्यक्षको चयनभन्दा पनि विश्व फुटबलको सर्वोच्च निकायमा सुधारको थालनीको रुपमा हेरिएको छ । पछिल्लो समय भ्रष्टाचार, आर्थिक अनियमितता एवं अपरादर्शिता तथा सम्पत्ति शुद्धिकरणको प्रकरणले फिफालाई बदनाम गराउँदै लगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]