राहुल गान्धी, केजरीवाल र येचुरीलाई देशद्रोहको आरोप
काठमाडौं, १७ फागुन । भारतीय कंग्रेस आईका उपाध्यक्ष राहुल गान्धीविरुद्ध देशद्रोहको आरोप लगाइएको छ । हैदरावादको साइबरावाद इलाकाको प्रहरी चौकीमा गान्धीविरुद्ध देशद्रोहको आरोपमा उजुरी दर्ता गरिएको हो । गान्धीसँगै कम्युनिस्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम येचुरी र दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवाललगायत केही नेताविरुद्ध पनि राष्ट्रद्रोहको उजुरी दर्ता गरिएको छ ।
अदालतको आदेशमा राहुल गान्धी, डी राजा, सीताराम येचुरी, अरविन्द केजरीवाल, अजय माकन, आनन्द शर्मा, केसी त्यागी, कन्हैया कुमार, उमर खालिदमाथि मुद्दा दर्ता गरिएको सरुरनगर प्रहरी चौकीका एसएचओ एस लिंगैयाले जानकारी दिएका हुन् ।
जवाहरलाल नेहरू विश्वविद्यालयमा आयोजना गरिएको एक कार्यक्रममा भारतविरोधी नारा लगाइएको विषयसँग जोडेर यो उजुरी दर्ता गरिएको हो । भारतीय संसदमा आक्रमण गरेपछि फाँसी दिइएका अफजल गुरुको समर्थनमा उक्त कार्यक्रम गरिएको र त्यहाँ भारतविरोधी नारा लगाउने विद्यार्थीलाई कारबाही नगर्न गान्धी, येचुरी, राजा, केजीवाललगायतले भनेको भन्दै देशद्रोहको उजुरी दर्ता गरिएको हो । – एजेन्सी