आप्रवासीको अवस्थाप्रति राष्ट्रसंघीय प्रमुख चिन्तित

२०७३ जेष्ठ २० गते, बिहीबार

काठमाडौँ, २० जेठ । संयुक्त राष्ट्रसंघीय महासचिव बान कि मुनले पछिल्लो समयमा आप्रवासीहरु एक देशबाट अर्काे देशमा जाने क्रममा बढ्दै गएको खतराप्रति चिन्ता व्यक्त गर्नुभएको छ । युरोप प्रवेशका क्रममा भूमध्यसागरमा भएका डुंगा दुर्घटनाहरुमा कैयौँ आप्रवासीको ज्यान जाने गरेकोले त्यसले आपूm दुःखी भएको महासचिव बानले बताउनुभएको हो । उहाँले आप्रवासीको ज्यानजाने क्रम पछिल्लो समयमा बढ्दै गएको भन्दै त्यसको समाधानका लागि सबैको चासो हुनसपर्नेमा पनि जोड दिनुभएको हो ।
गत हप्तापनि उक्त भूमध्यसागरमा भएको यस्तै डुंगा दुर्घटनामा परी महिला, बालबालिकासहित सयजनाभन्दा बढीको ज्यान गएको थियो । उहाँका प्रवक्ता स्टेफन डुजारिकले मङ्गलबार प्रकाशन गर्नुभएको विज्ञप्तिमा महासचिव बानले उक्त दुर्घटनाहरुबाट आफू निकै दुःखी हुनुभएको बताइएको छ ।
उक्त विज्ञप्तिमार्फत उहाँले त्यस दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको थियो ।
आप्रवासीको समस्यका कारण युरोप तथा अन्य क्षेत्रमा पनि पछिल्ला वर्षहरुमा व्यापक मात्रामा उत्पन्न भएकोतर्फ सबैको ध्यानाकर्षण हुनुपर्ने पनि महासचिव बानले बताउनुभएको छ ।
आप्रवासी दुर्घटना बढ्यो
यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार यसवर्ष आप्रवासीको दुर्घटना पहिलेको तुलनामा झन बढेको पाइएको छ । युरोप छिर्ने आप्रवासीको सङ्ख्या प्रतिदिन बढ्दो रहेको र यसका कारण उनीहरुको डुंगाको यात्रा पनि जोखिमपूर्ण हुदै गएको समाचारमा जनाइएको छ । पछिल्लो एक तथ्याङ्कअनुसार सन् २०१६ को सुरुदेखि नै भूमध्यसागरमै भएका यस्ता डुंगा दुर्घटनामा परी करिब दुई हजार ५१० आप्रवासीको ज्यान गइसकेको छ ।
तर गतवर्ष यसै अवधिमा भने यसरी ज्यान जाने नागरिकको सङ्ख्या एक हजार ८०० मात्र थियो ।
यसरी हेर्दा यसवर्षको सुरुदेखि नै आप्रवासीको सुरक्षाको अवस्था ह्रासोन्मुख अवस्थामा पाइएको हो । यो अवस्थाप्रति सबै चिन्तित हुनुपर्नेमा महासचिवले जोड दिनुभएको हो ।
गतहप्तामात्र यो भूमध्यसागर पार गर्न खोज्दा भएको दुर्घटनामा परी ८०० जनाभन्दा बढीको ज्यान गएको थियो ।
त्यस दुर्घटनामा उल्लेख्य सङ्ख्यामा बालबालिका र महिला पनि परेका थिए । ती आप्रवासीको सङ्ख्या निकै धेरै रहेको र जबर्जस्ती पार गर्नखोज्दा यस्तो दुर्घटना भएको अधिकारीहरुले जनाएका थिए ।
पछिल्ला वर्षहरुमा विश्वमा बढ्दोमात्रामा हिंसा र आतङ्क फैलिएको र यसका कारण नागरिकले आन्तरिक र वाह्य शरणार्थीका रुपमा जिवन जिउन बाध्य हुनुपरेको छ । सिरिया, इराक, यमन र अफगानिस्तानमा हिंसा जारी छ । यी देशबाट पछिल्ला समयमा लाखौँ लाख नागरिक देश छोडेर शरणार्थीका रुपमा बाहिरिएका छन् । – रासस-एपी

प्रतिक्रियाहरु

[anycomment]