आइएसको आक्रमणवाट चार जनाको मृत्यु

२०७३ असार १८ गते, शनिबार

काठमाडौं, १८ असार । बंगलादेशको राजधानी ढाकाको गुलशन डिप्लोम्याटिक क्षेत्रस्थित होली आर्टिशन बेकरी रेष्टुरेन्टमा चरमपन्थी समूहले गरेको आक्रमणमा चार जनाको मृत्यु भएको छ । रेष्टुरेन्टमा अचानक प्रवेश गरेको ८÷९ जनाको समूहले गोली प्रहार गर्दा दुई इटालियन नागरिक र दुई जना प्रहरी मारिएको बताइएको छ। घटनामा ३० भन्दा बढी घाइते भएका छन् । आक्रमणकारीले २० बढी कुटनीतिज्ञहरुलाई बन्धक बनाएको छ।
आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको छ। बंगलादेशी गुप्चचार स्रोतका अनुसार आईएसले घटनाको जिम्मेवारी लिएको हो । आइएसले यसअघि नै बंगलादेशमा आक्रमणको चेतावनी दिएको बताइएको छ। शुक्रबार मात्र ढाकास्थित एक हिन्दू मन्दिरका पुजारीको घाँटी रेटेर हत्या गरिएको थियो ।
आक्रमण भएको क्षेत्रमा विभिन्न ३४ मुलुकको राजदूतावास रहेको बताइएको छ। आक्रमणका लागि हतियारधारीहरु ‘अल्लाह–ओ–अकबर’ भन्दै रेष्टुरेन्ट प्रवेश गरेका थिए ।
प्रहरीको ठुलो संख्याका साथै रैपिड एक्शन बटालिउनले रेष्टुरेन्टलाई घेरा हालेर राखेको बताइएको छ। आक्रमणका क्रममा ज्यान बचाएर भागेका रेष्टुरेन्टका कर्मचारी सुमोन रजाका अनुसार आक्रमण हुने बेला रेष्टुरेन्टमा इटाली र अर्जेन्टिनाका पाहुना बढी थिए । यता अमेरिका र बेलायतले आफ्ना नागरिकहरुलाई ढाकाको गुलशन क्षेत्रभन्दा टाढै रहन चेतावनी दिएका छन् । यो बंगलादेशका लागि नयाँ अनुभव भएको र बंगलादेशी प्रहरी यसप्रकारको घटनाका लागि तयार नभएकाले अपरेशन लामो समय चल्न सक्ने बताइएको छ। यद्यपि प्रहरीले हाइ अलर्ट जारी गर्दै पुरा क्षेत्र घेरामा लिएको छ। प्रहरीले लाउडस्पीकरमार्फट बन्धुकधारीसँग सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]