अमेरिकाद्वारा पाकिस्तानी सहयोगमा रोक लगाउने तयारी
काठमाडौं, २९ असार । अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सहयोगमा रोक लगाउने तयारी गरेको छ । अमेरिकी कंग्रेस समितिले पाकिस्तान आतंकवादको जरो भएको भन्दै उसलाई दिदैं आएको सबै सहयोगमा रोक लगाउन अमेरिकी सरकालाई सुझाव दिएको छ । अमेरिकी विदेश मामिलासम्बन्धी उप समितिको बैठकका क्रममा पाकिस्तानबिरुद्ध व्यापक आलोचना भएको छ ।
अमेरिकाले पाकिस्तानलाई दिइँदै आएको सहयोगमा तत्काल रोक नलगाए आतंकवाद प्रायोजित देशको सूचीमा समावेश गरिनुपर्ने धारणा उपसमितिका अध्यक्ष मैट सैलमनले राखेका छन् ।
त्यसो त पछिल्लो समय पाकिस्तानलाई दिइँदै आएको आर्थिक र सैनिक सहयोगमा अमेरिकाले केही हदसम्म रोक लगाइसकेको छ ।
विश्वमा कतिपय आतंकवादी हमलामा पाकिस्तानी नागरिकको संलग्नता पुष्टी भएपछि अमेरिकाले यस्तो कदम चाल्न लागेको हो । आफ्नो देशप्रति अमेरिकी नीतिबारे भने पाकिस्तानले कुनै प्रतिक्रिया दिएको छैन ।- एजेन्सी