हिलारी क्लिन्टनको जानकारी ह्याकरको कब्जामा
काठमाडौ, १५ साउन । अमेरिकी राष्ट्रपति पदकी डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनको चुनाव अभियानसँग सम्बन्धित जानकारी ह्याक भएको छ । अमेरिकी संचार माध्यमहरुका अनुसार यो डेमोक्रेटिक पार्टीविरुद्ध ठुलो साइबर आक्रमण हो । डेमोक्रेटिक नेशनल कमिटि र डेमोक्रेटिक कांग्रेस्नल क्याम्पेन कमिटिसँग सम्बन्धित जानकारी ह्याक भएको हो । अमेरिकी अधिकारीहरुका अनुसार यो साइबर आक्रमणका पछाडि रुस सरकारका लागि काम गर्ने एजेन्ट जिम्मेवार रहेका छन् ।
रुस अमेरिकामा हुने राष्ट्रपतीय निर्वाचन प्रभावित गर्ने कोशिस गरिरहेको आशंका गरिएको छ। तर, रुस सरकारले भने यो साइबर आक्रमणमा आफ्नोतर्फबाट कुनै संलग्नता नरहेको बताएको छ। अमेरिकाको यसप्रकारको आरोपलाई ‘द्ववेषपूर्ण रुसविरोधी’ भन्दै रुसले निन्दा गरेको छ।
क्लिन्टनको चुनाव प्रचार टिमले शुक्रबार छानविनसँग सम्बन्धित डाटा प्रोग्राममा ह्याकरले कब्जा गरेको जनाएको थियो । एफबीआईका अनुसार यो आरोप र हैकिङको गम्भीरतापूर्वक छानविन गरिरहेको छ। यसअघि अमेरिकाका रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्पले प्रत्यासी क्लिन्टनको जानकारी ह्याक गर्न रुससँग आग्रहसमेत गरेका थिए । – एजेन्सी