टर्की र अमेरिकाद्वारा आइएसको प्रमुख गढमा आक्रमण गर्ने तयारी
काठमाडौं, २३ भदौ । टर्की र अमेरिकाले सिरियामा चरमपन्थी संगठन इस्लामिक स्टेटको गढ रक्कामा हमला गर्ने तयारी गरेका छन् । टर्कीका राष्ट्रपति रिचेप तैयप अर्दोआनले अमेरिकासँग मिलेर सिरियाको रक्कामा हमलाको तयारी गरिरहेको बताएका हुन् । उनले अमेरिकी राष्ट्रपति बाराक ओबामाले चीनमा भएको जी–ट्वेन्टी देशको बैठकमा चरमपन्थीका विरुद्ध साझा अभियान सञ्चालन गर्न सुझाव दिएको बताए । टर्कीले यो अभियानलाई साथ दिनुपर्ने उनको भनाइ थियो ।
पछिल्लो महिना टर्कीले सिरियाको सीमामा आइएस र कुर्द लडाकुविरुद्ध कारबाही गरिरहेको छ । टर्कीको समर्थन पाएको विद्रोही समूहले जाराब्लुस शहरमा आइएसका अखडामा आक्रमण गरिरहेको छ । टर्कीका उपप्रधानमन्त्री नूरेतिन कानिक्लिले टर्कीको सुरक्षाफौजले सिरियाका केही सिमा क्षेत्रमा नियन्त्रण गरी अघि बढ्न सक्ने बताएका छन् । उनले सैन्य अभियानमा अहिलेसम्म १ सय १० जना आइएस र कुर्द लडाकुको मृत्यु भइसकेको बताए ।- एजेन्सी