यमनमा हवाई हमला
काठमाडौँ, १४ कात्तिक । साउदी अरब नेतृत्वको गठबन्धन सेनाको हवाई आक्रमणमा यमनमा ३० जना मारिएका छन् । घटनामा ४३ जना घाइते भएका छन् । हूथी विद्रोहीको नियन्त्रणमा रहेको पश्चिम बन्दरगाह होदेदाको क्षेत्रमा आक्रमण गरिएको हो । मारिनेमा धेरैजसो कैदी रहेको जनाइएको छ । यमनमा सन् २०१४ देखि हूथी विद्रोहीले सरकारविरुद्ध सशस्त्र संघर्ष गरिरहेको छ । सो संगठनले केही शहरमा नियन्त्रण पनि कायम गरेको छ । अरब गठबन्धनले भने यमनका निर्वासित राष्ट्रपतिलाई फेरि सत्तामा पुर्याउन हूथीमाथि आक्रमण गरिरहेको छ । नागरिक मारिएकामा साउदी अरबको आलोचना पनि भइरहेको छ । – एजेन्सी