आप्रवासी चढेको डुंगा दुर्घटना, दुई सय ४० मृत्यु

२०७३ कार्तिक १९ गते, शुक्रबार

काठमाडौं , १९ कात्तिक । शरणार्थी मामिला हेर्ने संयुक्त राष्ट्रसंघको संस्था युएनएचसीआरले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै लिबियामा डुंगा दुर्घटनामा कम्तिमा २ सय ४० जनाको मृत्यु भएको जनाएको छ । यो संख्यासँगै भूमध्यसागरीय क्षेत्रबाट जीवनलाई खतरामा राखी युरोप तथा विश्वका अन्य मुलुक जाने क्रममा सन् २०१६ मा ४ हजार दुई सय २० आप्रवासीको मृत्यु भएको राष्ट्रसंघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
इटालीस्थित यूएनएचसीआरकी प्रवक्ता कारलोटा समीका अनुुसार आप्रवासी दुईवटा रबरका डुंगा दुर्घटनामा जम्मा ३१ जना बाँच्न सफल भएका छन् । दुबै डुंगामा यात्रारत ती यात्रु प्रायःजसो सहारा क्षेत्रका अफ्रिकी नागरिक रहेको बताइएको छ । तर यूएनएचसीआरका इटालीस्थित प्रतिनिधि समीका अनुसार डुंगा दुर्घटनामा कति र कहाँका नागरिकको मृत्यु भएको हो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ । अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईएमओ)का अनुसार सन् २०१५ मा भूमध्यसागरीय क्षेत्रमा ३ हजार ७ सय ७७ जनाको मृत्यु भएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]