क्लिन्टन र ट्रम्प निर्वाचन आफ्नो पक्षमा पार्न सम्पूर्ण शक्ति लगाउदै

२०७३ कार्तिक २१ गते, आईतवार

काठमाडौं,२१ कात्तिक । हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचन आफ्नो पक्षमा पार्न सम्पूर्ण शक्तिका साथ जुटेका छन् । रिपब्लिकन उम्मेदवार ट्रम्पले आफ्नो ध्यान डेमोक्रेट राज्यका रुपमा चिनिएका पेन्सिलभेनिया, मिशिगन र मिन्नेसोटामा केन्द्रित गरेका छन् ।
डेमोक्रेट उम्मेदवार क्लिन्टनले भने फ्लोरिडा र पेन्सिलभेनियामा चुनावी सभाहरु सकाउनु भएको छ । दुबै उम्मेदवारले त्यहाँ मतदातालाई आफ्नो पक्षमा पार्न सकेको प्रयास गरेका छन् ।
एफबीआईले ईमेल प्रकरणमा फेरि हात हालेपछि पछिल्ला चुनावी सर्भेक्षणहरुमा आफ्नो पकड केही गुमाएपनि अझै पनि केही प्रतिशतले हिलारी नै परिणाममा अगाडी रहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । विभिन्न निकायले गरेका सर्भेक्षणमा एकदेखि तीन प्रतिशतसम्मले हिलारी अगाडी देखिनु भएको हो । झण्डै साँढे तीन करोड मतदाताले भने मतदानको दिन अगावै मत हालिसकेका छन् ।
दुबै नेताले मतदातालाई आकर्षित गर्न एकार्कामा आरोप प्रत्यारोप गर्नुका साथै ओबामा नीतिको बचाउ र खण्डन गरेका छन् ।
ट्रम्पले इमेल प्रकरणलाई उछालेका छन् भने हिलारीले ट्रम्प महिलाको अपमान गर्ने, आप्रबासी र मुश्लिमहरुको सम्मान गर्न नसक्ने भन्दै आलोचना गरेकी छिन् ।
उता, निर्वाचनको पूर्व सन्ध्यामा आतंकवादी आक्रमण हुनसक्ने सूचना पाएपछि अमेरिकी सुरक्षा अधिकारीहरुले महत्वपूर्ण राज्यहरुमा सुरक्षा व्यवस्था उत्तिकै कडा बनाएका छन् । आतंकवादी संगठन अलकायदाले आक्रमणको प्रयास गर्नसक्ने सूचना आएको अमेरिकी जासूसी संस्थाका अधिकारीहरुले जनाएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]