हिलारीले अपराध गरेकी छैनन् : एफबीआई
काठमाडौं, २२ कात्तिक । अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई इमेल प्रकरणमा क्लीनचीट मिलेको छ । अमेरिकी संघीय जाँच ब्यूरो एफबीआईले मतदानको दुई दिन पहिले हिलारीको ईमेलमा आपराधिक विषय केही नरहेको भन्दै सफाई दिएको हो । क्लिन्टनले प्रयोग गरेका ईमेलमा आपराधिक कुराको कुनै प्रमाण नमिलेको एफबीआईले प्रष्ट गरेको हो । अमेरिकी कांग्रेसलाई एक पत्र लेख्दै एफबीआईका निर्देशक जेम्स कूमीले ब्यूरोले आफ्नो काम सम्पन्न गरेको र ईमेलका त्यस्तो आपराधिक कुनै कुरा नभेटिएको जनाएका हुन् ।
यसै वर्षको जुलाईमा पनि ईमेल जाँचको प्रतिवेदन दिँदै एफबीआईले हिलारीले लापरवाही गरेको भएपनि अपराध भने नगरेको जनाएको थियो । हिलारी क्लिन्टनको एक नजिकका सल्लाहकारको पतिको ल्यापटपमा विवादित ईमेल फेला परेपछि यो विषय फेरि दोस्रो पटक उछालिएको थियो । एफबीआईले निर्वाचनको ११ दिन पहिले फेरि ईमेल जाँच थालेपछि डेमोक्रेट शिविरमा ठूलै भुईचालो गएको थियो भने रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले राहतको श्वास फेरेका थिए । त्यसयता ट्रम्पको चुनावी मुद्दा नै यही विषय बनेको थियो ।
अमेरिकामा भोलि मंगलबार नोभेम्बर ८ को विहानैदेखि नयाँ राष्ट्रपति चुन्न मतदान हुँदैछ । निर्वाचनमा चार जना मैदानमा भएपनि चर्चा दुई नेता क्लिन्टन र ट्रम्पको मात्र देखिएको छ । एफबीआईले ईमेल प्रकरणमा फेरि हात हालेपछि क्लिन्टनको अवस्था खस्कँदै गएपनि मतदान पूर्व गरिएका सर्भेक्षणहरुमा एकदेखि तीन प्रतिशतको अग्रता देखाइएको छ । एफबीआईले सफाई दिएलगत्तै हिलारीको अवस्था केही सुदृढ हुनसक्ने आंकलन गरिएको छ । – एजेन्सी