राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव पारित
काठमाडौं, २४ मंसिर । दक्षिण कोरियाकी राष्ट्रपति पार्क गियुन हेइविरुद्धको महाअभियोग प्रस्ताव दुई तिहाइले पारित भएको छ । भ्रष्टाचारको आरोप लागेकी राष्ट्रपति पार्कविरुद्ध राष्ट्रियसभामा भएको मतदानमा प्रस्तावको पक्षमा २३४ र विपक्षमा ५६ मत परेको थियो । महाअभियोगको पक्षमा राष्ट्रपति पार्कको सत्ताधारी सानुरी पार्टीका सांसदले पनि मतदान गरेको देखिएको छ । महाअभियोगको पक्षमा मतदान भएपछि अब राष्ट्रपति पार्कको अधिकार निलम्बित भएको र राष्ट्रपतिको अधिकार प्रधानमन्त्री ह्वाङ क्यो आनमा गएको बताइएको छ । तर, महाअभियोगको अन्तिम निर्णयका लागि भने ९ जना न्यायाधीश रहेको संवैधानिक अदालतको स्वीकृति आवश्यक हुन्छ । संवैधानिक अदालतले ६ महिनाभित्र निर्णय दिनसक्ने व्यवस्था रहेको छ ।
यसअघि राजनीतिक ‘स्क्यान्डल’मा फसेपछि पार्कको राजीनामा माग गर्दै विशाल प्रदर्शन भएको थियो । राष्ट्रपतिले पर्दा पछाडिबाट आफ्नो साथी चोइ सुना सीललाई सत्ताको दुरुपयोग गर्न अनुमति दिएको आरोप प्रदर्शनकारीहरुको छ । प्रदर्शनकारीले राष्ट्रपति पार्ककोविरुद्ध सडकबाट राजीनामाको नारा लगाए पनि उनले संसदको सामना गर्ने बताएकी थिइन् ।
दक्षिण कोरियाको राष्ट्रियसभामा महाअभियोग प्रस्ताव विहीबार दर्ता भएको थियो । राष्ट्रियसभामा विपक्षी र स्वतन्त्र सांसदहरुको बहुमत छ । पार्क दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति हुन् ।- एजेन्सी