आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासन दिवस
काठमाडौं, ३ पुस । आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासन दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ । सुरक्षित आप्रवासनका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम गरिंदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो । सोही दिनको सम्झनामा हरेक बर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो ।
नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकको अधिकार सुनिश्चतताका लागि वकालत गर्दै सरकारको ध्यानाकर्षण गराउने गरेका छन् । नेपालमा प्रत्येक दिन करीब १७ सयको हाराहारीमा नेपाली कामका लागि विदेशिने गरेको सरकारी तथ्यांक छ । जस अनुसार ३० लाखभन्दा बढि नेपाली अहिले रोजगारीका लागि विदेशमा रहेको मानिन्छ । तर योभन्दा निकै ठूलो संख्यामा नेपालीहरु कामका लागि विदेशमा रहेको अनुमान गरिन्छ । श्रमका लागि नेपाली जानेमा खाडी मुलुकहरु, मलेशिया, दक्षिण कोरिया, पूर्वी अमेरिकालगायत पर्दछ । तर खाडी, मलेशिया जस्ता मुलुकमा भने नेपालीलाई निकै जोखिमयुक्त श्रममा लगाइन्छ भने श्रमका लागि जाने नेपालीहरु शोषणमा पनि उत्तिकै पर्ने गरेका छन् ।
आप्रवासी कामदारले भित्र्याएको रेमिट्यान्सले ने मुलुकको अर्थतन्त्र थेगिएको भएपनि सरकारले पनि सुरक्षित र स्वाभीमानयुक्त श्रमका लागि भनेजत्ति काम नगरेको गुनासो बढिरहेको छ ।