ट्रम्पको सपथ ग्रहण आज
काठमाडौं, ७ माघ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले शुक्रबार(आज) पद तथा गोपनियताको सपथ लिदैछन् । उनले आजैदेखि जिम्मेवारीसमेत सम्हाल्दै छन् । ह्वाइट हाउसमा हुने भव्य समारोहमा ट्रम्पले राष्ट्रपतिको शपथ लिनेछन् शपथका लागि भव्य तयारी भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । गत नोभेम्बरमा भएको चुनावमा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै रिपब्लिकन ट्रम्प निर्वाचित भएका थिए । शपथ ग्रहण समारोहका लागि ट्रम्प ह्वाइट हाउस पुगेको न्युयोर्क टाइम्सले जनाएको छ । आजैदेखि राष्ट्रपति बाराक ओबामाको कार्यकाल पूरा हुँदैछ ।
ट्रम्प सामु विभाजित देशलाई एकताबद्ध बनाएर लैजाने चुनौती छ । चुनावी अभियानदेखि नै महिलामाथिको प्रतिक्रिया तथा विभिन्न यौनदुव्र्यवहारका आरोप तथा भिडियोका कारण ट्रम्प आलोचनको घेरामा छन् । ट्रम्पले महिलाप्रति व्यक्त गर्ने विचार अपमानजनक भएको भन्दै धेरै आलोचना गर्ने गरेका छन् । रिपब्लिकन पार्टीभित्रकै धेरै नेता पनि ट्रम्पको व्यवहारबाट खुशी छैनन् । यस्तै विभिन्न विषयमा सामाजिक सञ्जाल मार्फत व्यक्त गर्ने विचारका कारण पनि ट्रम्पको आलोचना हुने गरेको छ ।
यसैगरी चुनावका बेला रुसले गरेको ह्याकिङ र ट्रम्पलाई सहयोग गर्न चाहेको भन्ने गुप्तचर विभागको प्रतिवेदनका कारण पनि ट्रम्प आलोचनाको घेरामा छन् । विश्लेषकले अमेरिका इतिहासकै विभाजित अवस्थामा रहेको बताएका छन् । विभाजित देशलाई एक बनाएर लैजानु ट्रम्पको चुनौती हो । तर ट्रम्पले भने देश चुनावी अभियानभन्दा पहिलेदेखि नै विभाजित रहेको बताएका छन् । – एजेन्सी