ट्रम्पद्वारा आप्रवासीमाथि कडा जाँच गर्न निर्देशन
काठमाडौं, १५ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा आउने आप्रवासीमाथि कडा जाँच गर्न निर्देशन दिएका छन् । नवनियुक्त रक्षा मन्त्री जेम्स म्याटिसलाई शपथ दिलाउँदै ट्रम्पले कट्टर इस्लामिक अतिवादीलाई अमेरिकाभन्दा टाढा नै राख्नका लागि आप्रवासीमाथिको जाँचमा कडाई गर्न आदेश दिएका हुन् । आफ्नो देश र देशवासीलाई माया र सहयोग गर्ने मुलुकका जनतालाई भने आफ्नो देशमा आउन दिने पनि उनले बताए । सुरक्षा जाँचमा गरिने कडाईको स्वरुप कस्तो हुनेचाहिं उनले बताएनन् । आफ्नो देशमा शरण माग्न आउनेहरुमा पनि सिरियाईको तुलनामा ईसाइलाई प्राथमिकता दिने धारणा उनले व्यक्त गरे ।
गत वर्ष मात्र ओबामा प्रशासनले सिरियाका दश हजार शरणार्थीलाई शरण दिएको थियो । ट्रम्पले अरु ६ मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने पनि बताए । – एजेन्सी