उत्तर कोरियाद्वारा अमेरिकामाथि आक्रमण गर्ने चेतावनी

२०७३ चैत्र २ गते, बुधबार

काठमाडौं, २ चैत । उत्तर कोरियाले अमेरिकामाथि आक्रमण गर्ने चेतावनी दिएको छ । अमेरिका र दक्षिण कोरियाबीच भइरहेको संयुक्त सैन्य अभ्यास नरोके अमेरिकामाथि आक्रमण गरिने चेतावनी दिएको उत्तर कोरियाको सरकारी समाचार समिति केसीएनएसले बताएको छ ।अमेरिकी सेनाले सुरक्षा दिने बहानामा दक्षिण कोरियामा आक्रामक ड्रोन प्रणाली र त्यसका लागि आवश्यक सेना तैनाथ गर्न सुरु गरेको छ ।
अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास मार्च २४ तारिखसम्म चल्नेछ ।आफूलाई घेर्न अमेरिका र दक्षिण कोरियाले सैन्य अभ्यास गरेको उत्तर कोरियाको दाबी छ । अमेरिका र दक्षिणले उत्तर कोरियाली सम्प्रभुतामाथि दखल दिन खोजेको बताउँदै जल, स्थल, हवाई सबै क्षेत्रमा आक्रमण गरिने उसले स्पष्ट पारेको छ । यसको गम्भीर परिणाम भोग्नुपर्ने उसको भनाइ छ । अमेरिकासँग भएका हतियारलाई उत्तर कोरियाली सेनाले तह लगाउने प्योङयाङको भनाइ छ ।
अमेरिकाले पनि आफ्नो तयारीलाई अन्तिम रूप दिँदै दक्षिण कोरियामा आक्रामक ड्रोन प्रणाली तैनात गरेको छ । दक्षिण कोरियाली रक्षा विभागका प्रवक्ताले आगामी वर्षसम्म आक्रामक ड्रोन प्रणाली तैनाथ गरिनु सामान्य भएको जानकारी दिएका छन् । प्योङयाङले हालै चारवटा ब्ललिस्टिक क्षेप्यास्त्र परीक्षण गरेलगत्तै अमेरिकी ड्रोन तैनाथ गरिएको उनको भनाइ छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता नौसेना क्याप्टन जेफ डेभिसले सोमबार भने, ‘दक्षिण कोरियाली सशस्त्र बल र अमेरिकी वायु सेनाबीच समन्वयपछि अमेरिकी सेनाले दक्षिण कोरियाको कुनसानस्थित वायु सेनाको केन्द्रमा मानवरहित ‘ग्रे इगल’ एरियल सिस्टम स्थायी रूपमै तैनाथ गरिएको छ ।’ एमक्यु—१सी ग्रे इगलले स्टिंगर र हेलफायर क्षेप्यास्त्रका साथै अन्य हतियार लैजान सक्षम छ । ड्रोन प्रणालीको रक्षा गर्न १२८ सैनिकको एक कम्पनी आवश्यक हुन्छ । प्रत्येक कम्पनीमा सामान्यतया १२ ‘ग्रे इगल’ हुन्छन् ।
ट्रम्प-सी भेटको तयारी
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङका बीच भेटवार्ताको तयारी गरिएको बताएको छ । कोरियाली प्रायद्वीपमा देखिएको तनाव कम गर्न बैठक आयोजना गरिन थालेको हो । ह्वाइट हाउसका प्रवक्ता सिन स्पाइसरले भने, ‘ट्रम्प र सीबीच भेटवार्ताको तयारी भइरहेको छ । मिति घोषणा हुन बाँकी छ ।’
उत्तर कोरियाका विषयलाई लिएर दक्षिण कोरियामा ड्रोन प्रणाली तैनाथ गरेपछि अमेरिकाले चीनसँग वार्ता गर्न खोजेको छ । चीनले कोरियाली प्रायद्वीपमा अमेरिका र सोलबीच भइरहेको संयुक्त सैन्य अभ्यास र ताड प्रणाली हटाउनुपर्ने बताउँदै आएको छ । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन पनि यसै साता जापान, कोरिया र चीनको भ्रमण गर्दै छन् । पेन्टागनका कार्यवाहक प्रवक्ता मार्क टोनरले चीसँगको वार्तामा उत्तर कोरिया नै मुख्य विषय हुने जानकारी दिएका छन् । १५ मार्चमा टोक्यो, १७ मार्चमा सोल र १८ मार्चमा उनी बेइजिङ पुग्नेछन् ।
ट्रम्पले ड्रोन आक्रमण गर्ने अधिकार दिए
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आतंकवादी संगठनविरुद्ध ड्रोन आक्रमण गर्ने अधिकार दिएका छन् । विगतमा बाराक ओबामाको सरकारले ड्रोन आक्रमणको अधिकार रक्षा विभागलाई मात्र दिएका थिए । सिआइएले गुप्तचरी सूचना संग्रह गर्न मात्र ड्रोन प्रयोग गर्ने गरेको थियो । ‘वाल स्ट्रिट’ जर्नलका अनुसार ट्रम्पले २१ जनवरीमा सिआइएको केद्रीय कार्यालय भ्रमण गरेका थिए । ट्रम्प प्रशासनले अमेरिकी सेनालाई पेन्टागन वा ह्वाइट हाउसको अनुमतिविना आवश्यकताअनुसार कारबाही गर्ने अधिकार दिइएको बताइएको छ ।
सिआइएलाई ड्रोन आक्रमण गर्ने अधिकार दिने ट्रम्पको निर्णयपछि अमेरिकी सरकार थप आक्रामक हुने अनुमान गरिएको छ । विगतको प्रशासनमा रक्षा विभागलाई मात्र ड्रोन आक्रमणको अधिकार दिनुपूर्व सिआइएले पाकिस्तानमा सर्वाधिक ड्रोन आक्रमण गरेको थियो । अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्पले शपथ लिएकै भोलिपल्ट २१ जनवरीमा पिटर बर्गन तथा डेभिड स्टेर्मनले ड्रोन आक्रमणबाट कमसेकम १ हजार ९ सय ४ जना मारिएको र ३ हजार १ सय १४ जनासम्म मारिएको उल्लेख गरेका थिए । ओबामा सरकारको अन्तिम आठ महिनामा अमेरिकाले ड्रोन आक्रमण बन्द गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]