अमेरिकाद्वारा सिरियामा हमला

२०७३ चैत्र २५ गते, शुक्रबार

काठमाडौं , २५ चैत । अमेरिकाले सिरियाविरुद्ध मिसाइल आक्रमण थालेको छ । आफ्नै नागरिकविरुद्ध रासायनिक हतियार प्रयोग गरी आमहत्या गरेपछि सिरियाली शासक बशर अल असदविरुद्ध क्रूद्ध बनेको अमेरिकाले असद सत्ताविरुद्ध आक्रमण थालेको हो ।
सिरियाको थुप्रै क्षेत्रमा अमेरिकाले ५० भन्दा बढी टामहाक क्रूज मिसाइल प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अधिकारीहरुले जनाएका छन् । प्रहारको निशाना सिरियाली हवाई अड्डाहरुलाई बनाइएको छ ।
मंगलबार विद्रोही नियन्त्रित क्षेत्रमा असद सत्ताले रासायनिक ग्याँस प्रयोग गर्दा दर्जनौं सर्वसाधारण मारिएका थिए । रासायनिक हतियार प्रहारका लागि प्रयोग गरिएका हवाई अखडाहरुमा आक्रमण गर्न आफूले निर्देशन दिएको राष्ट्रपति डोनल्ड ट्रम्पले प्रष्ट गरेका छन् । उनले सिरियाको द्वन्द्व अन्त्यका लागि सबै सभ्य मुलुकलाई आह्वान पनि गरेका छन् ।
रासायनिक हतियार आक्रमणको घटनाबाट निकै आक्रोशमा आएको ट्रम्प प्रशासन सिरियाविरुद्धको आफ्नो रणनीति बदल्दै सीधै सैन्य आक्रमणमा ओर्लिएको हो । असद सत्ताले आफ्नै नागरिकविरुद्ध रासायनिक हतियार प्रयोग गरेपछि अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले आगामी दिनमा सिरियामा असदको कुनै भूमिका नहुने गरी कदम चालिने प्रतिक्रिया दिएका थिए ।
अबका सबै राजनीतिक गतिविधि असदलाई सिरियाबाट हटाउनेमा केन्द्रित गरिने उनको भनाइ थियो । सिरियाली नागरिकको सुरक्षाका लागि सैन्य हस्तक्षेप जरुरी रहेको भन्दै अमेरिकी रक्षा मन्त्रालय र राष्ट्रपति कार्यालय ह्वाइट हाउसबीच छलफल भएको थियो । उक्त छलफललगत्तै अमेरिकाले सिरियाविरुद्ध मिसाइल आक्रमण थालेको हो ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु