पाकिस्तानद्वारा २९ भारतीय माझी पक्राउ
काठमाडौं , १४ बैशाख । पाकिस्तानका सरकारी अधिकारीले २९ जना भारतीय माझीलाई बिहीबार (आज) पक्राउ गरेको छ । देशको सामुद्रीक व्यापारसम्वन्धी नियमहरु उलंघन गरेको भन्दै उनीहरुलाई पक्राउ गरीएको पाकिस्तानी सुरक्षा अधिकारीले जनाएका छन् । सामुद्रिक व्यापारसम्बन्धी सुरक्षा निकायले २९ जना माझीसँगै पाँच ओटा डुंगासमेत नियन्त्रणमा लिइएको बताएको छ ।
‘भाारतीय माझीले अवैधरुपमा पाकिस्तानी जलक्षेत्रमा माछा मारेकाले उनीहरुलाई पक्राउ गरीएको हो,’ सामुद्रिक व्यापारसम्वन्धी सुरक्षा निकाय (एमएसए)का प्रवक्ताले सञ्चारकर्मीलाई भने ।
एमएसएले पक्राउ परेका माझीहरुलाई थप अनुसन्धान र कानुनी कारबाही प्रक्रियाका लागि प्रहरीलाई हस्तान्तरण गरेको छ । उनीहरुलाई अदालती प्रक्रियातर्फ लगिने प्रहरीले जनाएको छ ।
भारत र पाकिस्तानले यसैगरी पटकपटक एक अर्को देशका माझीलाई पक्राउ गर्ने गर्दछन् । यस महिनामा मात्रै पाकिस्तानी सुरक्षाकमीले भारतीय माझीहरुलाई पक्राउ गरेको यो दोस्रो पटक हो । गत मार्च २६ तारिखका दिन पाकिस्तानी अधिकारीहरुले झन्डै एक सय जना भारतीय माझीलाई पक्राउ गरेका थिए । रासस/सिन्ह्वा